बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। दोगडाकेदारको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप मंगलबार दिउँसो वडा नं २ को कटौजपानीमा दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनीषा बिष्ट रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन्। घाइते हुनेमा दोगडाकेदार–८ कै चालक समेत रहेका ३० वर्षीय भूपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया वीरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट रहेका छन्।
घाइतेमध्ये चालक भूपेन्द्रको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।
