इस्लामावाद- पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ जना भारतीय नागरिकहरूलाई उद्धार गरेको जनाएका छन्।
अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुङ्गामा फसेका थिए।
पाकिस्तानी सुरक्षा एजेन्सीहरू घटनास्थलमा पुगी सफल उद्धार अभियान सञ्चालन गरेको सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर)ले विज्ञप्तिमार्फत उल्लेख गरेको छ।
फसेका मानिसहरूको बारेमा जानकारी पाएपछि खोजी र उद्धार अभियान शुरु गरिएको पाकिस्तानी नौसेनाका अधिकारीहरूले डुङ्गामा देखिएको प्राविधिक समस्याहरू समाधान गरी उद्धार गरेको आईएसपीआरले जनाएको छ।
पाकिस्तानी उद्धार टोलीले प्रभावित भारतीय नागरिकलाई चिकित्सकीय सहयोगका साथै सङ्कटग्रस्त डुङ्गाको सुरक्षा समेत सुनिश्चित गरेको बताएको छ।


