विराटनगर- मोरङको विराटनगर महानगरपालिका-३ मा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ।
मंगलबार बिहान झाडीभित्र लुकाएर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पारिएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।
दुई लिटरको प्रेसर कुकर टेपले बाँधेर राखिएको अवस्थामा फेला परेको थियो। उक्त वस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो। बम डिस्पोजल टोलीले बिहान पौने ११ बजे उक्त वस्तु निष्क्रिय पारेको छ।
‘प्रेसर कुकरमा टेपहरू बाँधेको अवस्थामा फेला परेको थियो। सेनाले विष्फोटक पदार्थबारे अध्ययन गर्न लिएर गएको छ,’ एसपी पोखरेलले भने।
यसैबीच सोमबार दिउँसो प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम माम्सेबुङ गाउँपालिका वडा नम्बर १ गजुरमुखीका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ का ३० वर्षीय विपिन अधिकारी छन्।
उनीहरूले शैक्षिक संस्थालाई धम्क्याउन प्रेसर कुकर बम बनाएको बयानसमेत दिएका थिए। त्यसपछि प्रहरीले मंगलबार शंकास्पद वस्तु फेला पारेको हो।
प्रहरीले उनीहरूबाट विस्फोटक पादर्थमा प्रयोग हुने डेटोनेटर, सोडा, सहयोगको ठेली, खाली खाम लगायत बरामद गरेको छ।
