पोखरा- पोखरामा अवैध सुनचाँदी र ठूलो परिणामको नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिकलाई सुनचाँदी र नगदसहित मंगलबार पक्राउ गरेको हो।
भौमिकको साथबाट ६ किलो ६९ ग्राम अवैध सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए।
यस्तै ६ किलो चाँदी र नगद ६२ लाख ८१ हजार रुपैयाँ बरामद गरिएको थापाले बताए।
भौमिक पोखरा महानगरपालिका वडा नम्बर २ मोहरियामा बस्दै आएका थिए।
४० वर्षीय भौमिकले अवैध रूपमा सुन ल्याएको सूचना जिल्ला प्रहरी कार्यालय कास्कीले पाएको थियो। सोही सूचनाका आधारमा भौमिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
भौमिकलाई थप अनुसन्धानका लागि बुधबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरीले जनाएको छ।


