काठमाडौँ- देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको ३० औँ वार्षिकोत्सवको अवसरमा मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा उपस्थित सरोकारवालाले सो कुरामा जोड दिएका हुन्।
कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्द शर्माले भने, ‘उत्पादक किसानले मूल्य नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने समस्यालाई तत्काल अन्त्य गरेर अहिले भएका बजारको तह घटाउनु पर्छ ।’
किसानलाई बजारले प्रत्यक्ष जोड्ने र किसानको पसिनाको उचित मूल्य प्राप्त गर्ने वातावरण यस बजारमार्फत हुनुपर्नेमा उनले जोड दिए। दुःख र लगानी गर्ने किसानले मूल्य नपाएर तरकारी सडकमा फाल्नुपर्ने अवस्था आउनु दुःखदायी भएको भन्दै उनले अब यस्ता खालका समस्या देख्न र सुन्न नपर्ने वातावरण बनाउन के गर्न सकिन्छ आवश्यक सुझाव दिन आग्रह गरे।
कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले तरकारी उत्पादन किसानदेखि उपभोक्तासम्म आउँदा बजारको तह धेरै भएकाले किसान र उपभोक्ता मारमा परेकाले यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याए।
समितिका अध्यक्ष मदन भुजेलले कालीमाटी बजारलाई किसानमैत्री बनाउन पहल भइरहेको बताए। उनले किसान र उपभोक्ताबिच अहिले रहेको बजारको तह कम गर्नका लागि समितिका तर्फबाट के गर्न सकिन्छ आवश्यक सुझाव दिन आग्रह गरे।
समितिका कार्यकारी निर्देशक डा. महादेवप्रसाद पौडेलले बजारको हालको अवस्था र आगामी दिनमा बजार सुधारका योजना प्रस्तुत गरे।
प्रकाशित: २०८० फाल्गुण २ गते बुधबार ०७:१३