काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसंगीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको संगीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए।
विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘दर्शक–स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन्। तर, पछिल्लोसमय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ। यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ।’
‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रीय हुनु एउटै कुरा नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार भएकाले राम्रो नभएको बताए।
सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता गतिविधि निरूत्साहित गर्न आग्रह गरे।
पछिल्लो अधिवेशनबाट तपाईहरूको प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याहरूको सामना गरिरहेको विषयसमेत आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले संस्थाहरू विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताए।
उनले बढीभन्दा बढी सहमतिका साथ एकतावद्ध हुन र अन्य विषयहरूभन्दा लोकसंगीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रहसमेत गरे।


