काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँग कुराकानी गर्दै मंगलबार प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्।
‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन,’ प्रधानमन्त्रीले भनेका थिए।
पत्रकारिता जगत्ले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै दाहालले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन पनि आग्रह गरे।
उता फेसबुकमा भने प्राडा चित्रबहादुर बुढाथोकी त्रिविको उपकुलपतिमा नियुक्त भएको भन्दै बधाई दिनेको सूची लम्बिएको लम्बिएकै छ। उपकूलपति सिफारिस समितिले बूढाथोकीसहित तीन जनाको नाम सिफारिस गरेको थियो।
तीनजनामध्ये एक जनालाई उपकुलपतिमा नियुक्त गरिने भएपनि यस विषयका कुनै निर्णय नभएको प्रधानमन्त्रीको जिकिर छ।
समितिले पहिलो नम्बरमा प्राडा चित्रबहादुर बुढाथोकीलाई पारेको छ। उनी त्रिविको शिक्षाशास्त्र संकायका डिन हुन्।
तत्कालीन नेकपा निकटका रुपमा चिनिएका उनलाई उपकुलपतिमा धर्मकान्त बाँस्कोटा आएपछि शिक्षा संकायको डिन नियुक्त गरिएको थियो।
बुढाथोकीले गत असार १४ गतेको प्राज्ञिक परिषद्को बैठकमा शिक्षाशास्त्र संकायको प्राविधिक विषयबाहेक अन्यमा चारवर्षे स्नातक कार्यक्रम तीन वर्षमा झार्न लिखित प्रस्ताव गरेका थिए। त्रिविले विश्व बैंकको इसारामा चारवर्षे कार्यक्रम कार्यान्वयनमा ल्याएको आरोप उनको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ता काव्या रिजालले फेसबुकमा सोमबार नै प्राडा बुढाथोकीलाई बधाइ दिएकी थिइन्। अर्का प्रयोगकर्ता विमल अधिकारीले पनि बूढाथोकीलाई बधाई दिएका छन्। यस्ता थुप्रै प्रयोगकर्ताले बुढाथोकीलाई बधाई दिइरहेका छन्।




