काठमाडौँ- रुसमा वाइफाइको युजर नाम युक्रेनको समर्थनमा राखेकै कारण १ जना विद्यार्थीलाई जेल सजाय भएको छ।
मस्को स्टेट युभिर्सिटीका विद्यार्थीलाई आफ्नो वाइफाइको नाम ‘स्लावा युक्रेन’ अर्थात् ‘युक्रेनको जय होस्’ राखेको भन्दै अदालतले १० दिनको जेल सजाय सुनाएको बिबिसीले जनाएको छ।
रुसको राजधानी मस्कोस्थित अदालतले ती विद्यार्थीलाई विहीबार अदालतले चरमपन्थी संस्थाको प्रतीक प्रदर्शन गरेको आरोपमा सजाय सुनाएको हो।
उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो। उनको छात्रावासको कोठाबाट वाइफाइको राउटर र कम्प्युटर लगायतका विद्युतीय उपकरण पनि प्रहरीले बरामद गरेको छ।
रुसले युक्रेनमा हमला गरेयता युक्रेनको समर्थनमा ‘स्लावा युक्रेन’ अर्थात् ‘युक्रेनको जय होस्’ नारा लोकप्रिय छ। रुसको विरोधमा हुने प्रदर्शनमा प्रायः यो नारा लगाउने गरिएको छ।
रुसले युक्रेनमा आक्रमण थालेको करिब २ वर्ष भइसकेको छ। यसबीचमा रुसी हमलाको विरोध गर्ने र युक्रेनको समर्थन गर्ने हजारौंले जेल वा जरिमानाको सजायँ पाएका छन्।


