बलेवा (बागलुङ)- बागलुङको निसीखोलामा आज साँझ बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। पश्चिम रुकुमबाट काठमाडौँका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको निसीखोला गाउँपालिका–६ सिपमा दुर्घटना भएको हो।
बस मध्यपहाडी लोकमार्गबाट एक सय ५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए। घटनामा घाइतेको उद्धारको काम चलिरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताए। घटनाको थप विवरण आउन बाँकी छ।


