अमेरिका-बेलायतको गठबन्धन सेनाले सन् २००३ मा इराकमाथि आक्रमण गर्यो। यो युद्ध झन्डै दशकसम्म चल्यो। सन् २०११ मा सद्दाम हुसेनको सत्ताबाट बहिर्गमनसँगै यो युद्ध पनि सकिएको थियो।
दशक लामो युद्धका सकारात्मक भन्दा पनि नकारात्मक पक्ष बढी थिए। यसै विषयमा युद्ध सुरु गर्नुपर्ने कारण के थियो भन्नेबारे बीबीसीका गोर्डन कोरेराले तयार पारेको सामग्रीको नेपाली भावानुवाद यस्तो छः
इराक आक्रमणको बीस वर्षपछि ‘नरसंहारकारी हतियार’को अस्तित्व छ/छैन भन्ने कुरा अझै विवादित छ। त्यही नरसंहारकारी हतियारलाई कारण देखाउँदै बेलायत पनि अमेरिकाले थालेको युद्धको कार्यक्रममा सहभागीभएको थियो।
सामूहिक विनाशकारी हतियारको खोजीबारे नयाँ विवरणहरू बीबीसीको शृंखला ‘सक एन्ड वार : इराक ट्वान्टी इयर्स अन’मा सार्वजनिक भएको। यो शृङ्खला इराकको ‘सामूहिक विनाशकारी हतियार’को खोजीमा प्रत्यक्ष रूपमा संलग्न दर्जनौँ व्यक्तिसँगको अन्तर्वार्तामा आधारित रहेको छ।
सन् २००१ को अन्तिम महिनातिर एमआई६ का वरिष्ठ अधिकारीलाई जब सामूहिक विनाशकारी हतियारका विषयमा बताइएपछि उनी छक्क परे। त्यसपछि इराक युद्धका विषयमा अमेरिका गम्भीर बन्यो।
घटनालाई स्मरण गर्दै अमेरिकी गुप्तचर विभाग सीआईएको इराक अपरेसन समूहका प्रमुख लुइस रुएडा भन्छन्, ‘त्यही टेबलमा बसेर उनलाई हृदयाघात हुन्छ भन्ने मलाई शंका लागेको थियो। यदि उनी सभ्य मानिस नभएको भए आएर मलाई थप्पड हान्थे पनि होला। तर त्यस्तो पनि भएन।’
यो खबर चाँडै बेलायतको टेन डाउनिङ स्ट्रिट (प्रधानमन्त्रीको निवास) पुग्यो। यो कुरा डाउनिङ स्ट्रिट पुर्याउने काम कूटनीतिज्ञको नभएर जासूसहरूले गरेको बिबिसीको ठहर छ।
तत्कालीन एमआई-६ का प्रमुख सर रिचर्ड डियरलोभले बीबीसीलाई दिएको अन्तर्वार्तामा बेलायती प्रधानमन्त्रीलाई इराक आक्रमणबारे जानकारी दिने पहिलो व्यक्ति आफैँ भएको दाबी गरेका छन्।
उनी भन्छन्, ‘तपाईलाई मन परोस् वा नपरोस् तर अहिले तयारी गर्नुहोस् भनेर मैले प्रधानमन्त्रीलाई भनेको थिएँ। किनभने उनीहरु (अमेरिका) आक्रमणको तयारीमा छन्।’
बेलायतको विदेशी खुफिया एजेन्सी एमआई६ इतिहासकै सबैभन्दा विवादास्पद र खराब तरिकाले अल्झनको विषयमा संलग्न हुनेवाला थियो। अमेरिकाका लागि आम विनाशकारी हतियारको मुद्दाभन्दा सद्दाम हुसेनलाई सत्ताबाट हटाउने मुद्दा महत्त्वपूर्ण थियो। रुएडा भन्छिन्, ‘यदि सद्दाम हुसेनसँग रबर ब्यान्ड र पेपरक्लिप भएको भए हामीले इराकमा आक्रमण गर्ने थियौँ।’

एमआई-६ को मुख्यालय।
तर बेलायत इराकको रासायनिक, जैविक र आणविक हतियारको जोखिममा थियो। बेलायत सरकारले ‘सामूहिक विनाशकारी हतियार’ भएको दाबी मात्र गरिरहेको थियो। तर त्यसबेलाका बेलायतका मन्त्रीहरूले नै जासुसबाट हतिहारहरू रहेको थाहा पाएको दाबी गरेका थिए।
पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले भनेका छन्, ‘मैले जुन जानकारी खुफिया एजेन्सीबाट पाएको थिएँ। त्यो कुरा बुझ्न साँच्चै महत्त्वपूर्ण थियो। म जेमा भर परिरहेको थिएँ, म त्यसको लागि योग्य थिएँ भन्ने मलाई लाग्दछ।’
आक्रमणको पूर्वसन्ध्यामा, उनले संयुक्त खुफिया समितिबाट आश्वासन मागेको बताएका छन्। उनले गुप्तचर निकायलाई गलत भएकोमा आलोचना गर्न अस्वीकार पनि गरे। बाँकी मन्त्रीहरूले त्यसबेला भनेका थिए उनलाई आफूप्रति नै शंका लागेको थियो।
‘तीनवटा घटनामा मैले रिचर्ड डियरलभलाई सोधेँ। खुफियाको स्रोतबारे जानकारी लिएँ,’ तत्कालीन विदेशमन्त्री ज्याक स्ट्राउ भन्छन्, ‘मलाई यसबारे असहज लागेको थियो। तर डियरलभले मलाई हरेक अवसरमा एजेन्टहरू भरपर्दो छन् भनेर आश्वासन दिनुभयो।’

डियरलभ।
यसको जिम्मेवारी नेताहरुले लिनुपर्ने ज्याक स्ट्रले दाबी गर्दै आएका छन्। किनभने अन्तिम निर्णय त उनीहरुले नै लिने हुन् भन्ने उनको तर्क छ।
इराक युद्धमा गुप्तचर निकायको विफलता हो भनेर सोधिएको प्रश्नलाई उनले अस्वीकार गरेका छन्।
इराकसँग नरसंहारकारी हतियार थिए भन्नेमा बेलायती/अमेरिकीहरू विश्वास गर्छन्। सम्भवतः तस्करी गरी ती हतियार सिरिया पुर्याइएको उनीहरूको आशंका छ।
सद्दाम हुसेनसँग नरसंहारकारी हतियार थियो?
‘यो ठूलो असफलता थियो,’ बेलायतका तत्कालीन सुरक्षा तथा खुफियाका प्रमुख सर डेभिड ओरमोन्ड भन्छन्, ‘कि सद्दाम हुसेनसँग सामूहिक विनाशका हतियारहरू थिए भन्ने कुराको जानकारी केही अधिकारीबाट मिलेको थियो। त्यसैले ती अधिकारी मात्रतर्फ मात्र सरकारी विशेषज्ञको ध्यान खिचियो। सद्दामसँग नरसंहारकारी हतियार थिएनन् भन्नेहरूका कुरा सुनिएन, बरु उनीहरूको कुरालाई तटस्थ मानियो। एमआई-६का केही व्यक्तिहरू यो विषयमा चिन्तित भएको बताउने गरेका छन्।
इराकमा सेवा गरेका एक अफिसरले नाम गोप्य राख्ने सर्तमा भने, ‘त्यतिबेला हामीले जे गरिरहेका थियौं त्यो गलत थियो भन्ने लाग्यो।’
‘इराकले सामूहिक विनाशको योजना बनाउने हतियार पुनः सुरु गरेको छ भनेर सुझाव दिने कुनै नयाँ वा विश्वसनीय गुप्तचर वा मूल्याङ्कन थिएन र यसले खतरा सिर्जना गरेको थियो,’ एक वरिष्ठ अधिकारीले सन् २००२ लाई उल्लेख गर्दै भनेका छन्, ‘मलाई लाग्छ सरकारको दृष्टिकोणबाट यो एउटामात्र यस्तो कुरा थियो जसबाट इराकको सामूहिक विनासको हतियार भएको एमडी मुद्दालाई जायज ठहराउन सक्थे।’

सद्दाम हुसेन
२००२ को बसन्ततिर खुफियाले ल्याएको जानकारी विचित्रको थियो। लामो समयदेखि एमआई-६ का एजेन्टलाई इराकमा सामूहिक विनाशका हतियारहरूको बारेमा थोरै वा कुनै जानकारी थिएन।
यो मामलालाई बलियो बनाउन, नयाँ स्रोतहरूबाट ताजा गुप्तचर सङ्कलन भइरहेको थियो। सेप्टेम्बर २००२ मा डोजियरको योजना बनाउँदा यो भइरहेको थियो।
गुप्तचर विभाग स्रोतले म्यासेजलाई डिकोडिङ गरेको कुरा स्मरण गरेको छ। उक्त म्यासेजमा गुप्तचर निकायको भूमिका बेलायती जनतालाई इराकमा कारबाही गर्न उक्साउनु भन्दा धेरै थिएन।
मोबाइल ल्याबको विकास
१२ सेप्टेम्बर २००२ मा सर रिचर्ड डियरलभले डाउनिङ स्ट्रिटमा नयाँ स्रोतबाट पाएको समाचार ल्याए। नयाँ स्रोतले सद्दाम हुसेनले हतियार कार्यक्रम पुनः सुरु गरेको र चाँडै नयाँ विवरणहरू दिने वाचा गरेको थियो।
यस स्रोतको गहिरो अनुसन्धान र विज्ञहरुलाई जानकारी नदिए पनि त्यसको विवरण प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको थियो। तर रिचर्डले आफू टेन डाउनिङ स्ट्रिटनजिक आएको आरोप अस्वीकार गरेका छन्।
तर त्यसपछि नयाँ भनिएको स्रोतले पनि कुनै प्रमाण प्रदान गरेन। अन्तमा ऊसँग कुनै प्रमाण नभएको कुरा स्वीकार गरियो। यी केही स्रोतले सूचनाको बदलामा पैसा कमाउन चाहन्थे वा इराकबाट सद्दाम हुसेनलाई हटाउन चाहन्थे भन्ने संकेत मिलेको छ।
सर रिचर्ड भन्छन्, ‘जनवरी २००३ मा मैले जोर्डनमा सद्दामको गुप्तचर सेवाका एक व्यक्तिलाई भेटेँ। ती व्यक्ति सद्दामका गतिविधिका विरुद्धमा थिए। अमेरिकाको नजरभन्दा टाढा जैविक हतियारमा काम गर्न मोबाइल ल्याबको विकासमा आफू संलग्न रहेको कुरा उनले बताएका थिए।
ती व्यक्तिको दावीका कारण पूर्व अमेरिकी विदेशमन्त्री कोलिन पावेलले संयुक्त राष्ट्र संघमा यो मुद्दा उठाएका थिए। तर, त्यसको लगत्तै अमेरिकी सरकारले यो सूचनालाई विश्वास गर्न नसकिने भन्दै खारेज गरी सूचना जारी गरेको थियो।
‘कर्भबल’ कोडमेन नामक अर्को स्रोतमा अमेरिका र बेलायतका अधिकारी भर परेका थिए। उसले पनि प्रयोगशालाको बारेमा जानकारी दिइरहेको थियो।

सन् २००२ मा इराकमा परिचालित बेलायती सेना। तस्बिर : बीबीसी
सामूहिक विनाशका हतियारहरूको जाँच
सन् २००३ को युद्धको केही हप्ताअघि मैले उत्तरी इराकको हलब्जा गाउँको भ्रमण गरेँ। १९८८ मा सद्दाम हुसेनका सेनाले उनीहरूमाथि रासायनिक हतियार खसालेको दिनको बारेमा स्थानीय मानिसहरूको कुरा सुनेको थिएँ। हुसेनका सेनाले रासायनिक हतियार गिराएको उनीहरूले बताएका थिए।
सद्दामले सन् १९९० को दशकमा संयुक्त राष्ट्रसंघका हतियार निरीक्षकहरूबाट क्लिन चिट पाउने आशामा नरसंहारकारी हतियार कार्यक्रम अघि नबढाउन आदेश दिएको कुरा इराकका एक वैज्ञानिकले पछि मसँग बताएका थिए।
इराकी नेताले कार्यक्रम पछि पुनः सुरु गरेको हुन सक्ने पनि ती वैज्ञानिकले बताए। तर इराकले गोप्य रूपमा सबै नष्ट गरेको थियो। इराकले छिमेकी देश इरानको विरुद्धमा प्रयोग गर्न सक्ने केही कुरा इराकसँग छ भन्ने सन्देश जाओस् भन्ने कुरालाई कायम राख्न इराकले यस्तो गरेको हुन सक्छ। त्यसैले पछि इराकलाई सबै नष्ट गरेको प्रमाण मागियो, इराकले त्यो दिन सकेन।
सन् २००२ को अन्तमा संयुक्त राष्ट्रका निरीक्षक विनाशकारी हतियारबारे अनुसन्धान गर्न इराक आएका थिए। तिनीहरूमध्ये केहीले मोबाइल प्रयोगशालाका गुप्त प्लान्टबारे अनुमान गर्न सकिने बताएका थिए।
जनवरी २००३ मा टोनी ब्लेयरले रिचर्डलाई ठट्टा गर्दै भनेका थिए, ‘मेरो भविष्य तपाईको हातमा छ किनभने सामूहिक विनाशका हतियारहरूको प्रमाण फेला पार्न दबाब बढ्दै गइरहेको छ।’
सर रिचर्डले सम्झन्छन्, ‘त्यो समय निराशाजनक थियो।’
रिचर्डले संयुक्त राष्ट्र हतियार निरीक्षकलाई ‘असक्षम’ भएको आरोप लगाएका थिए। संयुक्त राष्ट्र संघको रासायनिक र जैविक निरीक्षणका प्रमुख ह्यान्स ब्लिक्सले बीबीसीलाई सन् २००३ को शुरुवातसम्म आफूले पनि हतियारहरू रहेको विश्वास गरेको बताउँछन्। तर गोप्य सूचना पाएपछि सूचना दिने एजेन्सीको अस्तित्वमाथि शंका गर्न थालियो। उनले प्रमाणका लागि अझै केही समय मागेका थिए तर प्रमाण पाउन सकेनन्।
एक जना पूर्व एमआई-६ अधिकारीले स्रोतहरूकै युद्धपछिको आन्तरिक समीक्षा गर्दै भनेका थिए, ‘मार्च २००३ सम्म पनि कुनै गम्भीर सबुत नमिलेको कारण देखाएर युद्ध रोक्न सकिँदैन थियो। तर त्यसपछि पनि नरसंहार गर्ने कुनै हतियार फेला परेन। सबै कुरा बिग्रियो।’ यो कुरा जासूस र राजनीतिज्ञ दुवैको लागि गहिरो र स्थायी परिणाम दिने खालको थियो।
(बीबीसीबाट भावानुवाद गरिएको हो।)


