‘यो फोटो तपाईँले खिच्नुभएको हो?’ फोटो पत्रकार निमेषजंग राईको ह्वाट्सएपमा केही महिनाअघि अपरिचित व्यक्तिको म्यासेज आयो। हेरे, तीन वर्षअघि कोरोनाकालमा आफैँले खिचेको फोटो थियो त्यो। त्यतिबेला ‘भाइरल’ भएको त्यो तस्बिर पठाएर आफ्नै साथीभाइले जिस्काइरहेको ठाने र खास चाख नदिइकनै जवाफ फर्काए- ‘हो।’
त्यसपछि उताबाट आएको जवाफले निमेष आश्चर्यचकित बने- ‘म फिडेल देवकोटा। तपाईँलाई ‘धन्यवाद’ भन्न कल गरेको। तपाईंले खिचेको यो फोटो मैले तीन वर्षअघि सामाजिक सञ्जालमा देखेको थिएँ। फोटोले मेरो मनमा गहिरो प्रभाव पार्यो। अनि फिल्म बनाएँ– द रेड सुटकेस। र खुसीको कुरा, आज यो फिल्म भेनिस फिल्म फेस्टिभलमा छानिएको छ।’
त्यही दिन नेपाली फिल्म भेनिसमा छानिएको समाचार पढेर निमेष खुसी भएका पनि थिए। तर उक्त फिल्म बन्नुको ‘क्रेडिट’को हिस्सेदारी निर्देशकले आफूलाई पनि बाँड्दा सुरुमा पत्याउनै सकेनन्। ‘हुन त तपाईँले क्रेडिट नदिन पनि सक्नुहुन्थ्यो। तर इमान्दार भएर मेरा लागि दिनुभयो,’ फिडेलसँगको भेटमा निमेषले खुसी साटे।
निमेषले सन् २००७ देखि फोटो पत्रकारिता सुरु गरेका हुन्। यो अवधिमा थुप्रै फोटो खिचे। यसरी क्रेडिट पाएका घटना पनि उनका लागि विरलै छन्। आफूले खिचेको फोटो नै फिल्मको मूख्य स्रोत बनेको अनुभव निमेषका लागि पहिलो हो।
१० माघ २०७७ मा कोरोना महामारी र लकडाउनबाट देश गुज्रिरहेको थियो। त्यो दिन विदेशमा मृत्यु भएका नेपालीहरूको शव सरकारले उद्धार गरेर नेपाल फर्काएको थियो। निमेष फोटो खिच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। त्यहाँ लासका गाडीहरू लस्करै राखिएका थिए। मृतकका आफन्तहरू भावविह्वल थिए। त्यही बेला रातो सुटकेस राखिएको गाडीको पछाडि लेखिएको सायरीमा निमेषको आँखा पर्यो, ‘हाँसी खुसी जिन्दगी चल्छ, मेहेनत गरे नेपालमै सुन फल्छ।’

मलेसियाबाट ल्याइएको शव बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गन्तव्यतिर गइरहेको रातो सुटकेसहितको पिकअप भ्यान (२०७७ माघ १०)। तस्बिर : निमेषजंग राई/नेपाल लाइभ डटकम
‘यो यति विराधाभास थियो कि दृश्यले मलाई भावुक बनायो। अनि मैले खिचेर अफिसमा फोटो-फिचरका लागि पठाइदिएँ,’ निमेष भन्छन्।
नेपाल लाइभमा प्रकाशित यो फोटोले धेरैको मन बेचैन बनाइदियो। ‘मन खोलेर भन्दा यो फिल्म उहाँकै फोटोको ‘रेड सुटकेस’ हो,’ फिडेल थप्छन्, ‘तपाईँलाई कहिले भनुँला जस्तो भएको थियो। सही समय पनि आयो। यदि क्रेडिट नदिएको भए मेरो मनमा शान्ति हुन्नथ्यो।’
फिडेल जर्मनीमा भिजुअल एन्थ्रोपोलोजी पढाउँछन्। भिजुअल एन्थ्रोपोलोजीमै उनले विद्यावारिधि गरेका छन्।
कोरोनाकालमा पनि फिडेल जर्मनीमै थिए। कोरोनाले आक्रान्त पारिरहेको समय उनी अनौठा कुराहरू सोच्थे, ‘म यहाँ मरेँ भने के हुन्छ? मेरो मन त नेपालमै छ।’
‘जीवनको अनिश्चितताले हानिरहेको क्षण मलाई त्यो फोटोले तानेको थियो,’ उनी सुनाउँछन्। फिडेलले सन् २०१७ देखि एउटा स्क्रिप्टमा काम गरिरहेका थिए। फिल्म बनाउन लगानी जुटाइरहेको समयमा कोरोना फैलिएको थियो।
त्यो प्रोजेक्टलाई थाती राखेर पछि उनले ‘द रेड सुटकेस’ अघि सारे।
फिडेलले फिल्म बनाउन जर्मनीबाट नेपालको विमानस्थल झर्दै गर्दा पनि आफूले कल्पेको फिल्मको दृश्य आँखासामु देखेका थिए। त्यो रातो बाक्साले उनलाई बेचैनी थपिदियो। अनुसन्धानको बेलामा पनि थुप्रै लासहरू रातो बाक्सामा देख्नुपर्यो।
ती क्षण फर्केर हेर्दा फिडेललाई लाग्छ, ‘रेड सुटकेसले समकालीन नेपालको इतिहास बोकेको छ।’
फिल्म सुटिङ दौरानका कुनै घटना उनी सम्झिरहन्छन्। सिन्धुलीको एउटा गाउँमा सुटिङको तयारी चलिरहेको थियो। लास लिएर जानका लागि एउटा घर रोज्नुपर्ने थियो। ‘हामीले कुनै पनि सदस्य विदेश नगएको घर खोज्यौँ। अचम्म लाग्दो कुरा, ती सबै घरमा कोही न कोही सदस्य विदेश पलायन थिए,’ उनी सुनाउँछन्।

फिडेल देवकोटा।
‘रेड सुटकेस’को छायांकन १६ दिनमै सकियो। सम्पादनमा डेढ वर्ष लाग्यो।
एउटा फेस्टिभलमा फिल्म हेरेपछि एक जना नेपालीले उनलाई प्रतिक्रिया दिएका थिए, ‘दाइ, तपाईँले भन्नुभएको कथा मेरै गाउँको जस्तो लाग्यो।’ त्यो प्रतिक्रियाले फिडेल भावुक भए। सोचे- मैले कम्तीमा वास्तविकतामा आधारित भएरै फिल्म बनाएछु। ‘मेरो लागि त्यो भन्दा ठूलो उपलब्धि अरु के होला?’ उनी भन्छन्।
प्रतिष्ठित फेस्टिभलमा आफ्नो फिल्म गएपछि फिडेलका लागि नयाँ सिकाइ पनि भएको छ। ‘हामीले उक्लिनुपर्ने डाँडा कति रैछ भन्ने थाहा भयो। हामीसँग के छ र के भन्नुपर्ने रैछ भन्ने पनि थाहा भयो,’ फिडेल भन्छन्। कतिपय दर्शकले आश्चर्य प्रकट गरे, ‘नेपालमा पनि यस्तो खालको फिल्म बन्ने रहेछ!’
‘नेपालमा फिल्म बनाउन भन्दा देखाउन गाह्रो छ,’ केही महिनाअघि फिडेलले भनेका थिए।
विश्वकै प्रतिष्ठित फेस्टिभल मानिने भेनिस फिल्म फेस्टिभलमा छानिएको यही फिल्मलाई नेपालका हलहरूले किनारा लगाएका छन्।
केही दिनअघि मात्र हलिउडको सिनेमा च्यानल होम बक्स अफिस (एचबीओ)ले युरोपका १५ देशमा ओटीटीमार्फत् फिल्म प्रदर्शन गर्ने अधिकार लियो। नेपाली फिल्म क्षेत्रको लागि यो उपलब्धिको विषय हो। तर यही फिल्मले नेपालका क्युएफएक्सहरूमा चाहिँ शो पाउन सकेन। फिल्मका निर्माता रामकृष्ण पोखरेलले यो विभेदविरुद्ध फिल्म क्युएफएक्समार्फत् प्रदर्शन नगर्ने निर्णय गरे।
यद्यपि चैत्र ३० गतेबाट फिल्म प्रदर्शनमा आउनेछ। फिडेल नेपालमा आफ्नो फिल्ममाथिको प्रतिक्रिया पर्खिरहेका छन्।
‘अब दोस्रो फिल्म कहिले?’ शुभचिन्तकले फिडेललाई यो प्रश्न पनि सोधिरहन्छन्। त्यसको योजना पनि फिडेलले बनाइरहेका छन्।
१६ वर्षदेखि मुस्ताङको संस्कृति, जलवायु परिवर्तनले पारेको असरबारे उनी निरन्तर अनुसन्धान गरिरहेका थिए। सन् २००८ देखि हरेक वर्ष फिडेल मुस्ताङ पुग्छन्। अब फिडेलको नयाँ फिल्मको कथावस्तु र लोकेसन पनि मुस्ताङकै हुनेछ। यसका लागि उनी लगानी जुटाइरहेका छन्। ‘द रेड सुटकेस’ निर्माण गर्दा उनका निर्माताले गाडी बेचेका थिए। ‘अब त बेच्नका लागि गाडी पनि छैन क्यारे!’ उनी ठट्यौली पारामा सुनिए।


