काठमाडौँ– आइतबार सम्पन्न उपनिर्वाचनमा गत मंसिरमा भएको निर्वाचनमा भन्दा कम मत खसेको निर्वाचन आयोगको प्रारम्भिक विवरणले देखाएको छ। तनहुँ-१, चितवन-२ र बारा-२ मा भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा मंसिरमा भएको निर्वाचनमा भन्दा कम मत खसेको हो।
तनुहँ-१ मा ५१ प्रतिशत मात्रै मत खसेको छ। यो क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता थिए। प्रमुख जिल्ला अधिकारी छवि रिजालले मतगणना तनहुँको जिल्ला समन्वय समितिको हलमा हुने बताए।
तनहुँ १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेबीच प्रतिस्पर्धा हुने हुने अनुमान गरिएको छ।
चितवन–२ मा ७३ हजार ३५९ जनाले मतदान गरेका छन्। मंसिरमा पहिला ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको हो।
निर्वाचन आयोगका अनुसार केही केन्द्रमा अझै मतदान जारी छ। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ र नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
बारा–२ मा झण्डै ५६ प्रतिशत मत खसेको छ मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार केही मतदाता लाइनमा बसेकाले मतदान प्रतिशत भने बढ्नेछ।
बारा २ मा १ लाख ५ हजार २४८ मतदाता छन्। यो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलसहित उपचुनावमा ३४ जना उम्मेदवार छन्।


