वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले वि.स. २०२८ सालमा बनाएको ‘टिकुली ट्याक’बोलको गीत रमेश प्रसाईंको स्वरमा सार्वजनिक गरिएको छ। ५१ वर्षपछि पुनः रेकर्ड गरिएको गीतको सोमबार राजधानीमा भिडियो प्रिमियर गरियो। प्रसाईले स्वर भरेको गीतमा राईकै शब्द र संगीत छ।
निर्देशक तथा कलाकार दीपक आचार्य (काकु)ले गीतको भिडियो निर्देशन गरेका हुन् ।गायक राईसँग अनुमति लिएर रमेश प्रसाईको स्वरमा पुनः रेकर्ड गरिएको निर्देशक आचार्यले जानकारी दिए।
आफ्नो जीवनकालमा सयबढी गीत गाएका राईको ‘टिकुली ट्याक’ पहिलो गीत हो। कार्यक्रममा राईले आफू अहिले ८० वर्ष पुगेको र ३० वर्षअघि नै गीत गाउन छाडेको जानकारी दिए। उनले स्वास्थ्यले साथ नदिएपछि गीत गाउन छाडेको तर गीत सिर्जना अहिले पनि गरिरहेको बताए। रमेश प्रसाईंले आफ्नो गीतलाई न्याय दिएको उनको भनाइ छ। गीतलाई विपिन आचार्यले एरेन्ज गरेका हुन्।
भिडियोमा कलाकार हरिश निरौला, प्रियना आचार्य, पुस्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्माको अभिनय रहेको छ। सुबोल थापाको कोरियोग्राफी रहेको भिडियो पवन सुस्लिङले खिचेका हुन्। यस गीतको निर्माताको रुपमा सुस्मा गुरागाईँ रहेकी छिन्। भिडियो निर्देशनको पाटो दीपक आचार्यले सम्हालेका छन्। भिडियो संखुवासभा, तेह्रथुम र धनकुटामा छायांकन गरिएको हो।
