काठमाडौँ- नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा आएकाे छ। ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित रहेर यो फिल्म निर्माण भएको हो।
मुख्य भूमिकामा रहेकी नायिका केकी अधिकारीको होम प्रोडक्शनबाट निर्माण भएको चलचित्र ‘बोक्सीको घर’ फ्राइडे रिलिजअन्तर्गत आजबाट प्रदर्शनमा आएको हो।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनेत्री केकी अधिकारी शीर्ष भूमिकामा छिन् भने सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती, सुष्मा निरौला, सबिन बास्तोला, जीवन बराल लगायतको अभिनय फिल्ममा छ।
फिल्मको निर्मातामा बद्री अधिकारी छन् भने कार्यकारी निर्माता राज घिमिरे हुन् ।
महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म बनेको हो। सोसल–थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजको कुप्रथालाई चित्रण गर्ने केकीले बताइन्।
नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना केकीको छ।


