काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि पुराना राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्। सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।
बैठकमा सभापति देउवाले पुराना पार्टीप्रति जनताको चासो नदेखिएकाले पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएको कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि छलपल भएको थियो। खतिवडाका अनुसार बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने उनको भनाइ थियो। कांग्रेसले सत्ताको नेतृत्व र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनचासोका काम गर्न नसकेको उनको भनाइ थियो।
‘उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो। अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ,’ सभापति देउवाले बैठकमा राखेको अभिव्यक्ति उद्धृत गर्दै सांसद खतिवडाले भने, ‘कांग्रेसले बजेट ल्याउँदा जनतालाई सम्बोधन गर्ने कार्यक्रम आउनुपर्छ, साना जनतासँग जोडिने कार्यक्रम आउनुपर्छ।’
कांग्रेस संसदीय दलको बैठकमा सबैले बोल्ने क्रम नसकिएकाले भोलि १० बजे पुनः बस्ने खतिवडाले जानकारी दिए।


