काठमाडौँ- गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगामुढाको प्रयास गर्नेमध्ये एक जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्। उपप्रधानमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको प्रतिनिधि सभा बैठकमा बताएका हुन्।
‘कोशी नामकरणमा विरोध राख्ने समूहले कालोझण्डा प्रदर्शन गर्ने केही अभद्र व्यवहारसहित त्यो कार्यक्रम हुन नदिने प्रयासस्वरुप ढुंगामुढा गर्ने काम भएको छ। सरकारको तर्फबट दुख व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। यस क्रममा दुई जना प्रहरीहरु घाइते भएका छन्।’
यसअघि नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रतिनिधिसभाको बैठकको सुरुमै आकस्मिक समयमा भद्रपुर विमानस्थलबाट झापाको बुधबारेमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा केही समूहबाट होहल्ला तथा ढुङ्गामुढाको प्रयास भएको भन्दै आपत्ति प्रकट गरेका थिए। प्रमुख सचेतक गिरीले आफ्नो पार्टी शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने उल्लेख गर्दै यस्ता अवाञ्छित गतिविधिको विरोध गर्ने स्पष्ट पारे।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहबीच झडप भएको थियो। बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि उनीहरुलाई १०० मिटर वरै रोकिएको थियो। त्यसक्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो। ओली कार्यक्रम सकेर बाहिरिइसकेका छन्।


