नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी श्रीमतीको नाम खुलाएका छन्। वनारसबाट चुनाव लड्नका लागि उम्मेदवारीका साथ मोदीले बुझाएको सम्पत्ति विवरणमा श्रीमतीको नाम जसोदा बेन उल्लेख छ।
भारतीय सत्ताराजनीतिमा आएपछि सुरुसुरुमा अविवाहित रहेको भनेर प्रचार गरिएको थियो। तर पछि भारतीय मिडियामा उनले जसोदा बेनसँग विवाह गरेको खुलासा गरेका थिए।
भारतीय प्रधानमन्त्री बन्नुअघि मोदी गुजरातका मुख्यमन्त्री थिए। सन् २००२, २००७ र २०१२ मा पनि गुजरातको विधानसभा सदस्यमा निर्वाचित मोदीले लिएको शपथपत्रमा उनकी श्रीमतीको नाम उल्लेख छैन। श्रीमतीको नाम लेख्ने कोलम खाली थियो।
तर सन् २०१४ मा लोकसभा सदस्यमा निर्वाचित भएपछि लिएको शपथपत्रमा मोदीले आफ्नी श्रीमतीको नाम जसोदा बेन भएको उल्लेख गरेका थिए। तर २०१२ पछि र सन् २०१४ अघि उनीहरूबीच विवाह भएको भने होइन।
भारतीय टीभी आजतकमा प्रसारित रिपोर्ट अनुसार मोदी र बेनबीच ५० वर्ष पहिले नै विवाह भएको हो। तर सन् २०१२ सम्म श्रीमतीको नाम नखुलाएका मोदीले मिडियामा छापिएका समाचारले दबाब दिएपछि मोदीले आफ्नी श्रीमतीको नाम उल्लेख गरेको विश्लेषण हुँदै आएको छ।
विवाहको तीन वर्षपछि मोदी-बेन अलग अलग बस्न थालेका थिए। आफू १७ वर्षमा पुग्दा मोदीसँग विवाह भएको बेनले बताउँदै आएकी छन्। आफ्नी पत्नीको नाम जसोदा बेन भएपनि उनीसँग कति सम्पत्ति छ भन्ने मोदीले खुलाएका छैनन्।
प्रधानमन्त्री मोदीले आफूसँग भने तीन करोड रुपयाभन्दा केही बढी रकम बराबरको सम्पत्ति रहेको खुलाएका छन्। मे १४ मा हुन लागेको वाराणसीको चुनावमा मोदी उम्मेदवार छन्।
विवरणअनुसार मोदीसँग ३ करोड २ लाख ६ हजार ८८९ रुपया चल सम्पत्ति छ। यसमध्ये २ करोड ८५ लखा रुपया स्टेट बैंक अफ इन्डिया (एसबीआई)मा मुद्दती निक्षेपका रूपमा राखिएको छ।
यसबाहेक मोदीसँग चार वटा सुनका औँठी छन्। यसको मूल्य २ लाख ६७ हजार रुपया पर्ने भनिएको छ।
विवरण पेस गर्दाको समयमा मोदीले आफूसँग ५२ हजार ९२० रुपया मात्र नगद रहेको दाबी गरेका छन्। ९ लाख १२ हजारको रुपया नेसनल सेभिङ सर्टिफिकेट पनि भएको विवरणमा भनिएको छ।
पछिल्ला तीन वर्षमा मोदीले ३ लाख ३३ हजार रुपया आयकर बुझाएको समेत भनिएको छ।
मोदीले चल सम्पत्ति विवरण खुलाएपनि अचल सम्पत्ति कति छ भन्ने खुलाएका छैनन्।
मोदीले आफू अहमदाबाद निवासी भएको लेखेका छन्। मोदीले दिल्ली विश्वविद्यालयबाट १९९८ मा बीएको डिग्री लिएको र १९८३ मा गुजरात विश्वविद्यादलयबाट एमटीको डिग्री लिएको उल्लेख गरेका छन्।
सन् २०१९ को लोकसभा चुनावका बेला मोदीले बुझाएको सम्पत्ति विवरणमा गुजरातको गान्धीनगरमा आवासीय जमिन रहेको उल्लेख गरेका थिए। उक्त जमिनको २ करोड ५० लाख रुपया पर्ने उल्लेख थियो। त्यसबेला उनीसँग १ करोड २७ लाख मुद्दति निक्षेप थियो।
सन् २०१४ लोकसभा चुनावताका मोदीसँग १ करोड ६५ लाख रुपया बराबरको सम्पत्ति रहेको उल्लेख गरिएको थियो।


