तेहरान- इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।
आइतबार भएको हेलिकोप्टर दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
दुर्घटनामा परेको हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दलका सदस्य सवार रहेका थिए। उक्त हेलिकोप्टरमा कति जना चढेका थिए भन्ने खुलेको छैन।
रोयटर्स अनुसार दुर्घटनामा हेलिकोप्टर पूर्ण रुपमा जलेको छ।
आइतबारदेखि नै हराइरहेको हेलिकोप्टर सोमबार बिहान फेला परेको हो। मौसमका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ।
राष्ट्रपति रायसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न पूर्वी अजरबैजान गएका थिए । बाँध उद्घाटन लगत्तै उनी तबरिज सहरतर्फ लागेका थिए ।
इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी तबरिज जानेक्रममा हेलिकोप्टर बाटैमा दुर्घटनाग्रस्त भएको थियो।
राष्ट्रपतिलगायतको चढेको हेलिकोप्टरसँगै थप दुई हेलिकोप्टर पनि उक्त बाँध उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किएका थिए। तर दुई हेलिकोप्टर सुरक्षित रूपमा गन्तव्यमा पुग्दा राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटनामा पर्नु शंकास्पद भएको भन्दै केही इरानीहरूले सामाजिक सञ्जालमा प्रश्न उठाइरहेका छन्।

