नयाँदिल्ली- भारतमा आज लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान सम्पन्न भएको छ। सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा शनिबार मतदान सम्पन्न भएको हो।
पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बङ्गालका ९ सिट, बिहारका ८, उडिसाका ६, हिमाचल प्रदेशका सबै ४ सिट, झारखण्डका ३ सिट र चण्डीगढको १ सिटमा शनिबार मतदान भएको हो।
प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा छन्।
बिहान ७ बजे सुरु भएको मतदान ६ बजेसम्म चलेको थियो।
सात चरणको लोकसभा चुनावको लामो प्रचारका क्रममा प्रधानमन्त्री मोदीले ७५ दिनमा दुई सयभन्दा बढी प्रचार कार्यक्रमहरू आयोजना गरेका थिए।
यसमा र्यालीहरू र रोड शोहरू समावेश थिए।
आफ्नो चुनावी अभियान समाप्त गरेपछि प्रधानमन्त्री मोदी बिहीबार साँझ तमिलनाडूको कन्याकुमारीमा विवेकानन्द रक मेमोरियलमा ध्यानका लागि पुगेका थिए।
ध्यानमण्डपममा स्वामी विवेकानन्दले ध्यान गरेको ठाउँमा प्रधानमन्त्री मोदीले दिनरात ध्यान गरेको बताइएको छ। मोदीको ध्यान शनिबारै सम्पन्न हुँदैछ।
लोकसभा चुनावको अघिल्लो छ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो।
मतगणना जुन ४ अर्थात मङ्गलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ।


