काठमाडौँ- कुवेतमा भएको आगलागीमा मृत्यु हुने मध्ये ४२ जना भारतीय भएको पुष्टि भएको छ।
कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ।
भारतीय मिडियाहरुले पनि ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै तिनीहरु धेरैजसो केरला र तमिलनाडुका भएको जनाएका छन्। मृतकहरु २० देखि ५० वर्ष उमेर समूहका छन्।
भारतका विदेश राज्यमन्त्री कीर्तिवर्द्धन सिंह आज कुवेत जान लागेका छन्। राज्यमन्त्री सिंहले आगलागीको कारणबारे कुवेत सरकारसँग बुझ्ने, घाइतेहरुलाई भेट्ने र शवहरुलाई भारत ल्याउने बताइएको छ।
आगलागीमा परी भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्।
भवनमा नेपाली कामदारहरु पनि रहेको र आगलागीमा परी ५ जना नेपालीहरु घाइते भएको प्रारम्भिक सूचना छ।
आगलागीको कारण खुलेको छैन।


