काठमाडौं– विगत वर्षमा शैक्षिक सत्र समापन हुँदासम्म विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेर आलोचनामा पर्दै आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सबै जिल्लामा पाठ्यपुस्तक पठाइसकिएको दाबी गरेको छ।
मन्त्रालयले यो वर्षको नयाँ शैक्षिक सत्रको वैशाख नबित्दै ७७ जिल्लाकै विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको दाबी गरेको हो।
यसपालि समयमै सबै विद्यालयका विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव दीपक शर्माले सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको बताए।
‘वैशाख दोस्रो सातासम्म देशभरका सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेका छन्,’ प्रवक्तासमेत रहेका शर्माले भने। यस वर्ष जनक शिक्षा सामग्री केन्द्रबाट कक्षा ६ देखि १० का लागि १ करोड ५५ लाख थान पाठ्यपुस्तक छपाइएको थियो।
निजी क्षेत्रका प्रेसबाट कक्षा १ देखि ५ सम्मको १ करोड १८ लाख पाठ्यपुस्तक छपाइ गरिएको थियो। ७७ जिल्लाका सूचीकृत १ हजार २ सय ६७ स्थानीय विक्रेतामार्फत पाठ्यपुस्तक बिक्री वितरण गरिएको थियो।


