काठमाडौः मुलुकमा विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो दुई महिनामै विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।
रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिसँगै विदेशी मुद्रा सञ्चिति बढेको हो। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.९ प्रतिशत बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा विप्रेषण १३.५ प्रतिशत बढेर २ अर्ब ८५ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
सञ्चिति बढेसँगै मुलुकको बाह्य क्षेत्र थप बलियो बनेको देखिएको छ। भदौ मसान्तसम्मको सञ्चितिले करिब १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा कुल विदेशी विनिमय सञ्चिति २६ अर्ब ४८ करोड पुगेको छ। यो गत असार मसान्तको तुलनामा ४.३ प्रतिशत बढी हो।
रेमिट्यान्समा भएको वृद्धिले मुलुकको शोधनान्तर स्थिति पनि मजबुत बनेको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ।
त्यस्तै चालू खाता पनि १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँ बचतमा पुगेको छ। यसले मुलुकको बाह्य क्षेत्रमा सुधार देखिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
साउन र भदौमा मात्रै नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। भदौमा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ७४ हजार ३२० रहेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ छ।
आयात बढ्दा व्यापार घाटा ३ खर्ब २४ अर्ब
बाह्य क्षेत्रका सूचक सकारात्मक रहे पनि वस्तु व्यापारतर्फ भने आयातको वृद्धि उच्च देखिएको छ। पहिलो दुई महिनामा वस्तु आयात ३१.६ प्रतिशत बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको आकार ठूलो रहेकाले व्यापार घाटा २६ प्रतिशत बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पेट्रोलियम पदार्थ, रासायनिक मल, भटमासको कच्चा तेल तथा सवारी साधनका पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ।
महँगी भने बढ्यो
विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा सुधार देखिए पनि उपभोक्ताले भने बढ्दो महँगीको सामना गर्नुपरेको छ। राष्ट्र बैंकका अनुसार भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.७५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५.६९ प्रतिशत रहेको छ।
खाद्य समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य १६.६८ प्रतिशत, फलफूल १५.९९ प्रतिशत, चिनीजन्य पदार्थ १२.१४ प्रतिशत, माछामासु ७.३४ प्रतिशत र तरकारीको मूल्य ७.०७ प्रतिशत बढेको छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी मूल्यवृद्धि मधेश प्रदेशमा ७.४८ प्रतिशत रहेको छ। सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१६ प्रतिशत र काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
बैंकको कर्जा ब्याजदर ६.३८ प्रतिशतमा
वित्तीय प्रणालीमा तरलता सहज भएपछि बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि घटेको छ। भदौमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.३८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यस्तो ब्याजदर ७.६६ प्रतिशत थियो।
निक्षेपको भारित औसत ब्याजदर ३.११ प्रतिशत र वाणिज्य बैंकहरूको औसत आधार दर ४.७० प्रतिशतमा झरेको छ। अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत तथा ९१ दिने ट्रेजरी बिलको दर १.३५ प्रतिशत कायम भएको छ।
समीक्षा अवधिमा संघीय सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। यसमध्ये पुँजीगत खर्च ७ अर्ब ६६ करोड रुपैयाँ मात्रै रहेको छ।
सरकारले यस अवधिमा १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व परिचालन गरेको राष्ट्र बैंकले जनाएको छ।
समीक्षा अवधिमा सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६१२.४३ विन्दुमा कायम भएको छ। कुल बजार पुँजीकरण ४४ खर्ब १६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।
यस्तै, डिजिटल भुक्तानीको प्रयोग पनि उच्च रहेको छ। भदौमा मोबाइल बैंकिङमार्फत ६ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। क्युआर कोडमार्फत १ खर्ब ६७ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ।
समग्रमा, चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति, चालु खाता र शोधनान्तर स्थितिले बाह्य क्षेत्र बलियो रहेको संकेत गरेका छन्। तर, बढ्दो आयात, उच्च व्यापार घाटा र उपभोक्ता मुद्रास्फीतिले अर्थतन्त्रमा चुनौती भने कायमै रहेको देखाएको छ।




