लन्डन- बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ। लेबर पार्टीले सरकार बनाउन आवश्यक ३ सय २६ सिटको आँकडा पार गरेको हो।
किअर स्टारमरको नेतृत्वमा लेबर पार्टीले १९९७ पछिकै सबैभन्दा ठूलो विजय हासिल गरेको हो।
लेबरले हालसम्म ४१२ सिट जितिसकेको छ भने वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले १२१ सिट मात्र जित्न सफल भएको छ। यद्यपि थप २ सिटको नतिजा आउन बाँकी छ।
अघिल्लो चुनावमा भन्दा यसपालि लेबरले थप २११ सिटमा जित हासिल गरेको छ। कन्जरभेटिभले २५० सिट गुमाएको छ।
योसँगै लेबर पार्टीका कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन्। पक्का भएको छ। स्टार्मर सन् २०२० मा जेरेमी कोर्बिनलाई पछि पार्दै लेबर पार्टीका नेता चुनिएका थिए।
एक्जिट पोलले बेलायतका कुल ६५० सिटमध्ये लेबरले ४१० सिट जित्ने देखाएको थियो। कन्जरभेटिभ पार्टीले १३१ सिटमा अग्रता लिने बताएको थियो। तर उक्त संख्यामा पनि उसले सिट नपुर्याउने निश्चित भएको छ।
कन्जरभेटिभ पार्टीले १३१ सिट नपुर्याउने भएकाले यो उसका लागि अहिलेसम्मकै सबैभन्दा नराम्रो हार बनेको छ।
सन् २०१९मा कन्जरभेटिभ पार्टीले ६५० सिटमध्ये ३६४ सिट जितेको थियो। उक्त पार्टीबाट बोरिस जोनसन प्रधानमन्त्री बने। उनले अघिल्लो पटकको भन्दा ४७ सिट बढाएका थिए। तर यसपटक अवस्था ठिक उल्टो बन्यो।
२०१९ को चुनावमा विपक्षी लेबर पार्टीको सिट संख्या घटेको थियो।
लेबर पार्टीले ३० वर्षअघि अर्थात १९९७ मा अहिलेसम्मकै ठूलो जित हासिल गरेको थियो। तत्कालीन लेबर पार्टीका नेता टोनी ब्लेयर थिए र ४१९ सिट जितेका थिए भने कन्जरभेटिभहरू १६५ सिटमा सीमित थिए।
यस चुनावमा तेस्रो स्थानमा लिबरल डेमोक्र्याट छ। जसले ७१ सिटमा जित हासिल गरेको छ।
चुनावमा आफ्नो दलले लज्जास्पद हार खेपेपछि बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले राजीनामा दिएका छन्। हारको जिम्मेवारी आफूले लिने पनि उनले दिएको राजीनामा वक्तव्यमा उल्लेख छ।
उनले लेबर नेता कियर स्टाररलाई विजयी भएकोमा बधाई पनि दिएका छन्। उनले भनेका छन्, ‘बेलायतका जनताले सम्मानजनक फैसला दिएका छन्। धेरै धेरै सिक्न आवश्यक छ। म हारको जिम्मेवारी लिन्छु।’
ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिट कायमै राखेका छन्। आफ्नो सिटमा जितेपछि उनले भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ। म स्टार्मरलाई बधाई दिन्छु।’
कन्जरभेटिभ नेताहरूले चुनावमा कमजोर प्रदर्शनको लागि आफ्नो पार्टीको खुलेर आलोचना गरिरहेका छन्।
४४ वर्षीय ऋषि सुनक सन् २०२२ को अक्टोबरमा बेलायतको प्रधानमन्त्री बनेका थिए।
ऋषिका आमाबाबु भारतीय मूलका हुन् र उनी बेलायतको पहिलो अश्वेत प्रधानमन्त्री बनेका थिए।


