ढाका- सरकारी सेवामा आरक्षणको विरोध गर्दा भड्किएको हिंसामा परी बंगलादेशमा ६ जनाको मृत्यु भएपछि शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द भएका छन्।
यसका साथै सबै विद्यार्थीहरूलाई छात्रावास छोड्नका लागि पनि सरकारले निर्देशन गरेको छ।
सरकारको यस्तो आदेश आएपछि विद्यार्थीको बिचल्ली भएको छ। ढाका विश्वविद्यालयको छात्रावासमा प्रहरीले कारबाही गरेको छ।
सन् १९७१ को मुक्तिसंग्राममा लडेका सैनिकका सन्तानका लागि सरकारी जागिरमा आरक्षण दिइएको विरोधमा विश्वविद्यालयका विद्यार्थी विगत केही दिनदेखि आन्दोलनरत छन्।
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि लड्नेहरूलाई ‘युद्धनायक’ भनी आरक्षणको व्यवस्था गरिएको छ। देशमा सरकारी जागिरको एक तिहाइ युद्ध वीरका सन्तानका लागि आरक्षित छ।
विद्यार्थीले आरक्षण प्रणाली भेदभावपूर्ण रहेको भन्दै योग्यताका आधारमा जागिर दिनुपर्ने बताउँछन् ।
समग्रमा ५५ प्रतिशत सिट स्वतन्त्रता सेनानीका सन्तति, महिला, जातीय अल्पसंख्यक र अपांगता भएका व्यक्तिका लागि छुट्याइएको छ।
यो साता राजधानी ढाकालगायत देशका धेरै सहरमा आरक्षणको पक्षमा रहेका विद्यार्थी र यसको विरोध गर्ने विद्यार्थीबीच हिंसात्मक झडप भएको थियो।
दुवै समूहका विद्यार्थीले एकअर्कालाई ढुंगा र लाठी प्रहार गरेका थिए। उनीहरुलाई तितरबितर पार्न पुलिसले अश्रुग्यास प्रहार गरी रबरको गोली चलाउँदा ती विद्यार्थीको मृत्यु भएको हो।
यी आक्रमणमा ४ सयभन्दा बढी घाइते भएको बताइएको छ।
आरक्षणको बढी लाभ सरकार समर्थितलाई मिल्ने आन्दोलनकारीको आरोप छ। त्यस्तै गत जनवरीमा चौथोपटक प्रधानमन्त्री बनेकी शेख हसिनाका समर्थकलाई पनि हुने बताइएको छ।
सन् २०१८ मा विरोध प्रदर्शन भएपछि हसिना सरकारले आरक्षण व्यवस्था हटाएको थियो।
तर यसपालि जुन महिनामा ढाका हाइकोर्टले आरक्षण व्यवस्था लागू गर्न आदेश दिएको थियो। यसपछि ढाकामा आन्दोलन चर्किएको छ।


