काठमाडौँ- प्रदर्शनकारीहरूले बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन्। बिहीबार गरेको आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन्।
सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएको बताइन्छ।
“प्रदर्शनकारीहरूले सबैभन्दा पहिला रामपुरामा एक प्रहरी चौकीमा आगो लगाएपछि प्रहरीले उनीहरूमाथि गोली चलायो”, राजधानी ढाकाको छिमेकलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचार माध्यायमले भनेका छन्, “बिटिभी कार्यालयमा शरण लिएका प्रहरी अधिकारीहरू उनीहरूले पछ्याउँदै आए, त्यसपछि आक्रोशित प्रदर्शनकारीहरूले यहाँ उत्पात गरे।”
बिटिभीको प्रमाणित फेसबुक पेजमा आगो ‘विनाशकारी’ र ‘तीव्ररूपमा फैलिरहेको’ उल्लेख छ। प्रसारकले भनेको छ, “हामीले अग्निशमन सेवाबाट सहयोग खोजेका छौँ, धेरै मानिस भित्र फसेका छन्।”
निजामती सेवा भर्ति नियममा सुधारको मागसहित जारी विद्यार्थीहरूको विरोध प्रदर्शन हिंसात्मक बनेको छ। यो साता अहिलेसम्म भएका झडपहरूमा कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ।
