ढाका- सरकारी सेवामा आरक्षण दिने अदालतको आदेशविरुद्ध बंगलादेशमा चलिरहेको आन्दोलनमा हालसम्म २५ जनाको मृत्यु भएको छ।
आन्दोलनमा सयौं घाइते भएका छन्। आन्दोलन र हिंसा निरन्तर छ। प्रहरी बलसँग धेरै ठाउँमा हिंसात्मक झडपमा प्रदर्शनकारीहरू आमनेसामने भएका छन्।
देशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ।
सन् १९७१ को मुक्ति संग्राममा लडेका सैनिकका सन्तानका लागि सरकारी जागिरमा आरक्षणको माग गर्दै विश्वविद्यालयका विद्यार्थी विगत केही दिनयता आन्दोलनरत छन्।
सन् १९७१ मा पाकिस्तानको स्वतन्त्रताका लागि लड्नेहरूलाई यहाँ स्वतन्त्रता सेनानी भनिन्छ। देशमा सरकारी जागिरको एक तिहाइ छोराछोरीका लागि आरक्षित छ।
विद्यार्थीहरूले यसको विरोध गर्दै आएका छन्। विभिन्न कोटामा बंगलादेशमा ५५ प्रतिशत आरक्षण दिने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री शेख हसिनाले बुधबार देशका नाममा सम्बोधन गरेकी थिइन्। प्रधानमन्त्रीको सम्बोधनपछि द्वन्द्व थप चर्किएको छ।
प्रदर्शनकारीले प्रधानमन्त्रीको सम्बोधन अस्वीकार गरेका छन्। भाषणपछि आरक्षण विरोधी प्रदर्शनकारीहरूले ‘पूर्ण बन्द’को आह्वान गरे।
देशका विभिन्न भागमा रातिदेखि हिंसात्मक प्रदर्शन सुरु भएको छ ।
एकातिर आरक्षणको विरोध गर्नेहरू सडकमा आएका छन् भने अर्कोतिर सत्तारुढ दलका विभिन्न संघसंस्था पनि सडकमा आएका छन्।


