काठमाडौँ- संखुवासभामा शुक्रबार सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते बनेका तीन जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।
निर्माण सामग्री बोकेर गएको हेलिकोप्टर दुर्घटनामा परी घाइते बनेका दुई जनालाई भने संखुवासभामा जिल्ला अस्पताल लगिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए। उनका अनुसार संखुवासभामा रहेका दुई घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक छ।
शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४ मा सिम्रुङटार हम्बरे भन्ने स्थानमा सिम्रिकको हेलिकोप्टर दुर्घटना परेको थियो। हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएर बसेको थियो।


