काठमाडाैँ- बंगलादेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले राजीना दिइन्। हसिनाको बहिर्गमनसँगै बाङ्ग्लादेशको राजनीतिमा शून्यता सिर्जना भएको छ।
यसअघि हसिनाको अवामी लीग र विपक्षी बाङ्ग्लादेश न्याश्नल पार्टीबीच प्रतिस्पर्धाको राजनीति रहेको यो देशमा एकाएक शून्यताको अवस्था सिर्जना भएको छ।
सेनाप्रमुखले अन्तरिम सरकार निर्माण घोषणा गरेको केही घण्टापछि सोमवार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न आदेश दिएका छन्।
राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन्।
शहाबुद्दिनले आफूले सेना प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गरेको जानकारी दिएका छन्।
बाङ्ग्लादेशका राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने बताए।
तर सरकार कसको नेतृत्वमा बन्छ भन्ने स्पष्ट हुन बाँकी छ।
यस अघि बंगलादेशमा कैयौँ पटक सैन्य कू भएको थियो। सबैभन्दा पछिल्लो पटक सन् २००७ मा यहाँ सैन्य कू भएको थियो।
पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले देखाएको धैर्यको अमेरिकाले प्रशंसा गर्दै अन्तरिम सरकारको गठनमा जोड दिएको छ।
युरोपेली सङ्घले पनि प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई “शान्तिपूर्ण सत्ता हस्तान्तरण” गर्न आग्रह गरेको छ।
यो क्षेत्रकै शक्तिको रूपमा रहेको छिमेकी देश भारतले भने पछिल्लो घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन।
हर्षोल्लास र हिंसा
सेन्टर फर पोलिसी डाइअलगका वरिष्ठ अर्थशास्त्री देवप्रिया भट्टाचार्यले प्रधानमन्त्री हसिनाको राजीनामाले सडकमा हर्षोल्लास छाएको बताइन्।
उनका अनुसार हसिनाको राजीनामासँगै बंगलादेशमा अल्पसङ्ख्यक हिन्दूमाथि आक्रमण बढेको छ र नयाँ प्रशासनका लागि चुनौती बढेको छ।
पदत्याग गर्दै हसिना विदेश पलायन भएको समाचारसँगै उत्साहित प्रदर्शनकारीहरूको भिड सोमवार प्रधानमन्त्री निवासमा प्रवेश गर्यो। केही व्यक्तिले त्यहाँ लुटपाट समेत गरेको विवरणहरू आएका छन्।
प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निवासबाट फर्निचरका सामग्री बोकेर निस्कँदै गरेका देखिएका थिए।
सोमवार अनियन्त्रित भिडले सरकारी कार्यालयहरूमा आक्रमण गर्नुका साथै आगजनी समेत गरेको थियो।
प्रदर्शनकारीहरूले शेख हसिनाका पिता तथा स्वतन्त्र बाङ्ग्लादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिकमा पनि तोडफोडको प्रयास गरेका थिए।
सोमवार सहरभरि सेना र प्रहरी परिचालन भएका थिए। मोबाइल फोन र इन्टरनेट समेत कैयौँ घण्टासम्म अवरुद्ध भएका थिए।
सोमवारको हिंसामा पनि दर्जनौँ मानिसहरू मारिएको विवरण आए पनि हताहत हुनेको सङ्ख्या यकिन हुन बाँकी छ।
समाचारसंस्था एएफपीले कम्तीमा ६६ जना मारिएको जनाएको छ भने स्थानीय ढाका ट्रिब्यूनले १३५ जनासम्म मारिएको उल्लेख गरेको छ।
हसिनाको परिवार राजनीतिमा ‘नफर्किने’
हसिनाका सहयोगीहरूका अनुसार उनी अब देशको राजनीतिमा नफर्किने निष्कर्षमा पुगेकी छन्। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष देशको प्रधानमन्त्री बनेकी थिइन्।
यसपालि पदत्याग गर्न बाध्य हुँदा उनी निरन्तर १५ वर्ष देशकाे प्रधानमन्त्री भएर शासन गरेकी थिइन्।
हसिनाका छोरा सजीब अहमद वाजेद जोयले परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेको बताएका छन्।
हसिनाले राजीनामा नदिउन्जेलसम्म जोय प्रधानमन्त्रीका सल्लाहकार पनि थिए। अहिले उनी अमेरिकामा छन्।
उनले आफ्नी आमा अब राजनीतिमा नफर्किने सङ्केत गरेकाे बीबीसीले उल्लेख गरेकाे छ। “आफूले कडा परिश्रम गरेको भए पनि अल्पमत उनीविरुद्ध उठेको” देखेर हसिना दुःखित भएकी थिइन्।
“मलाई लाग्छ, अब सकियो। मेरो परिवार र हामीले धेरै खेप्यौँ,” हसिनाका छाेरालार्इ उदृत गर्दै बिबिसीले लेखेकाे छ।
उनले हसिनाको कार्यकालको प्रतिरक्षा गर्दै भने, “उहाँले बाङ्ग्लादेशको कायापलट गर्नुभयो। उहाँ सत्तामा आउँदा बाङ्ग्लादेशलाई विफल राज्य मानिन्थ्यो। यो गरिब देश थियो। आजसम्म यसलाई एशियाको उदीयमान बाघमध्ये एक मानिन्थ्यो। उहाँ निकै दुःखित हुनुहुन्छ।”
