ललितपुर- संखुवासभामा शुक्रबार सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका चार जनालाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।
घाइतेमध्ये तीन जनलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी मेडिसिटी ल्याएको हो भने एक जनालाई सिम्रिककै अर्को हेलिकोप्टरबाट उद्धार गरी मेडिसिटी ल्याइएको हो।
दुर्घटनामा परी घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकरलाई मेडिसिटी ल्याइएको हो। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।
विक्रम शंकरलाई सुरुमा जिल्ला अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि सिम्रिक एयरकै अर्को हेलिकप्टरबाट मेडिसिटी ल्याइएको हो।
शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४ मा सिम्रुङटार हम्बरे भन्ने स्थानमा सिम्रिकको हेलिकोप्टर दुर्घटना परेको थियो।
दुर्घटनामा परी भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ।






