काठमाडौँ- गाजा पट्टीलाई समेट्ने उपग्रह निगरानीको संयुक्त राष्ट्रसङ्घको पछिल्लो विश्लेषणले गाजाका ६३ प्रतिशत संरचनाहरू क्षतिग्रस्त भएको देखाएको राष्ट्रसङ्घीय मानवअधिकारवादीहरूले बताएका छन्।
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले एक महिनाअघि सङ्कलन गरेको तथ्याङ्क राष्ट्रसङ्घीय स्याटेलाइट सेन्टरले विश्लेषण गरेको जनाएको छ।
ओसिएचएले गाजामा बमबारी र शत्रुताले प्यालेस्टिनीहरू मरिरहेको, घाइते भइरहेको र विस्थापित भइरहेको तथा घरहरू र पूर्वाधारहरूलाई क्षति पु¥याइरहेको बताएको छ।
“प्यालेस्टिनी नागरिक सुरक्षाका अनुसार पछिल्लो ४८ घन्टामा गाजा सहरमा विस्थापितहरूलाई आश्रय दिएको तीन वटा विद्यालयमा कथितरूपमा आक्रमण हुँदा दर्जनौँ हताहत भएका छन्,” ओसिएचएले भनेको छ।
इजरायली सेनाले दक्षिणी खान युनिस र उत्तरी रफाह क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै अल मावासीमा पश्चिमतर्फ जान नयाँ आदेश जारी गरेको छ। गाजामा जनसङ्ख्याको आवागमन ट्र्याक गर्ने मानवीय साझेदारहरूले यस निकासी आदेशबाट प्रभावित क्षेत्रहरूमा ११ हजारभन्दा बढी मानिस बस्ने अनुमान गरेका छन्।
हिंसा जारी रहँदा गाजामा मानवीय सङ्कट गहिरिँदै गएको ओसिएचएले जनाएको छ। एजेन्सीका अनुसार पहुँच अवरोधहरू, आवश्यक आपूर्तिहरूको अभाव, ताजा उत्पादन र मासुको सीमित उपलब्धता, दूषित पानी र सरसफाइ सेवाहरू तथा रोग फैलाउने कारणले पोषण अवस्था बिग्रँदै गएको छ।


