काठमाडौँ- धेरै दिनको राजनीतिक उथलपुथलपछि बङ्गलादेशमा अन्तरिम सरकार गठन हुने भएको छ।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन्।
बङ्गभवनमा राष्ट्रपति मोहम्मद साहाबुद्दिनको अध्यक्षतामा बसेको बैठकमा यो निर्णय गरेको हो।
प्रदर्शनकारी विद्यार्थीहरूले अन्तरिम सरकारको नेतृत्व गर्ने मोहम्मद युनुसको प्रस्ताव स्वीकार गरेका छन्।
उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए।
मुहम्द युनिस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए। ‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरुले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए।
उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन्। किनकि उनलाई शेख हसिनाले गरिबहरुको रगत चुसेको आरोप लगाउने गर्दथिन्। युनुसले आफ्नो पार्टी खोल्ने तयारी गरेको सूचना पाएपछि शेख हसिना उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गरेकी थिइन्।
गत जनवरी महिनामा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो। यद्यपि उनी जेलमा भने बस्नु परेको थिएन।
८४ वर्षीय युनुस हाल उपचारका लागि फ्रान्समा छन्। उनले अब स्वदेश फर्किने बताएका छन्।


