काठमाडौँ- भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको एप गुगल प्ले स्टोरमा फर्किएको छ। केही दिनयता प्लेस्टोरबाट इसेवा हटेको भएपनि अब पुन: फर्किएको कम्पनीले जानकारी दिएको छ।
‘इसेवा एप’ यसअघि इसेवा प्राइभेट लिमिटेडको नाममा रहेको तर कम्पनीले आफूलाई ‘इसेवा पब्लिक लिमिटेड कम्पनी’ बनाउँदा भेरिफाई प्रक्रिया जारी रहेका बेला केही दिन प्ले स्टोरबाट हटेको कम्पनीको भनाइ छ।
‘इसेवाको स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि रहेको थियो। नाम परिवर्तनका क्रममा गुगलले प्ले स्टोरमा अस्थाई समयको लागि अनुपलब्ध गराएको थियो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले सो प्रक्रिया पूरा भइसकेकोले इसेवा पुनः प्ले स्टोरमा उपलब्ध भइसेकेको छ।’
गत वैशाख २८ देखि इसेवा पब्लिक कम्पनीमा परिणत भएको हो। तर यही नाममा इसेवा एप भेरिफाइड भने भएको थिएन।
गुगलले बिजनेस तथा संस्था भेरिफाइ गर्न डुन्स नम्बर प्रयोग गर्दै आएको छ। अमेरिकी कम्पनी डुन एन्ड ब्राडस्ट्रिट डुन्स नम्बर उपलब्ध गराउँछ। नाम परिवर्तन प्रक्रिया भइरहँदा गुगलको सिस्टममा भएको र डुन्स नम्बरमा भएको विवरण भिन्न देखिएको भन्दै गुगलले प्लेस्टोरले इसेवालाई हटाइदिएको थियो।
‘कुनै पनि एपको विवरण परिवर्तन हुँदा गुगल अन्तर्गत पूरा गर्नुपर्ने प्रक्रियाहरू सम्पन्न गर्दा अस्थाई रुपमा आउन सक्ने यो एक सामान्य प्रक्रिया हो,’ इसेवाले भनेको छ, ‘गुगल र डुन्सको कार्य प्रक्रिया भइरहँदा गुगल प्ले स्टोरमा इसेवा हटेको थियो। यो कुनै सुरक्षा कमजोरी वा सुरक्षा सम्बन्धी समस्याले भएको होइन।’
प्रयोगकर्ताहरूको सुरक्षाका लागि डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरु हटाउने गर्छ। गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्छ।


