काठमाडौँ- बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाले आफ्नो सत्ता पल्टाउन अमेरिकाको हात भएको बताएकी छन्।
भारतीय अखबार इकोनोमिक टाइम्ससँग कुरा गर्दै हसिनाले यो कुरा सार्वजनिक रहेकी हुन्।
अमेरिकाले मागिरहेको बंगालको खाडीको सेन्ट मार्टिन टापु अमेरिकालाई सेना राख्न दिएको भए आफूलाई यस्तो तनाव नहुने उनले बताएकी छन्।
हसिनाले अमेरिकाले बंगालको खाडी क्षेत्रमा सेना राख्न खोजेको तथा विशेष स्वार्थ भएको भनेको यो पहिलो पटक होइन।
उनी प्रधानमन्त्री हुँदै दुई महिना अगाडि बंगलादेश, म्यानमार तथा भारतका मिजोरम तथा मणिपुर क्षेत्र समेटेर ईसाई मुलुक बनाइन लागेको बताएकी थिइन्।
इन्डोनेसियाबाट अलग भएको ईसाई देश पूर्वी टिमोर शैलीमा यस्तो देश दक्षिण एसियामा पनि बनाउन लागिएको उनको दाबी छ, तर प्रधानमन्त्री हुँदा हसिनाले त्यो बनाउन खोज्ने देश अमेरिका भनेर सीधै किटान नगरेर संकेतमा मात्रै भनेकी थिइन्।
अमेरिकाले बंगलादेशी आन्दोलनमा समर्थन गरेको थियो। अरु देशमा भएका आन्दोलनपछिका अल्पसंख्यकहरुको हिंसाविरुद्ध बोल्ने अमेरिकाले बंगलादेशमा भएको अल्पसंख्यक खासगरी हिन्दूमाथि भएको हिंसाको विरोधमा भने मुख खोलेको छैन। यसलाई भारतीय मिडिया तथा हसिना पक्षधरहरुले अमेरिकाले आन्दोलन उक्साएको अर्थमा लिएका छन्।
रुसी समाचार एजेन्सी स्पुतनिकले त बंगलादेशको आन्दोलनमा सबैभन्दा धेरै जनपरिचालन गर्ने फेसबुक आइटीहरु अमेरिका, बेलायत तथा मलेसियाबाट सञ्चालन भएको खुलासा गरेको थियो।
छाेराले पनि आइएसआईलाई दाेष लगाएका थिए
यस अघि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले आफ्नी आमाको सरकार पतनका लागि देशको एउटा सानो समूह र आइएसआइलाई दोष दिएका थिए।
यसले पश्चिमी देशहरूले शेख हसिनाको भिसा रद्द गरेको वा उनले कुनै पनि देशमा राजनीतिक शरण लिएको कुरा पनि अस्वीकार गरेको छ।
समाचार एजेन्सी एएनआईलाई दिएको भिडियो अन्तर्वार्तामा सजीब वाजिदले देशको एउटा सानो समूह र विदेशी गुप्तचर एजेन्सी, सम्भवतः आइएसआईले यस्तो अवस्था सिर्जना गरेकोमा आफू विश्वस्त रहेको बताए। किनभने सरकारविरुद्ध विरोध गर्ने कुनै कारण थिएन। सरकारले आरक्षण कम गरेको छ।
सरकारले बल प्रयोग गर्ने प्रहरी अधिकारीहरूलाई तुरुन्तै निलम्बन गऱ्यो, तर प्रदर्शनकारीहरू आफ्नी आमाले सरकारबाट राजीनामा दिनु पर्ने कुरामा अडिग थिए।
‘प्रदर्शनकारी विद्यार्थीहरूले आफ्ना हतियारहरू कहाँबाट प्राप्त गरे? तिनीहरू विद्यार्थीहरू थिएनन्, तिनीहरू आतङ्कवादी थिए जसलाई निर्वाचित सरकार अपदस्थ गर्न उक्साएको थियो। मेरी आमाले देशमा नरसंहार रोक्न चाहेको कारण राजीनामा दिनुपर्यो,’ उनले भनेका थिए।


