ढाका- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या आरोपमा मुद्दा दर्ता भएको छ। अब उक्त मुद्दामाथि अनुसन्धान सुरु हुने अधिकारीहरूले बताएका छन्।
हसिनासँगै उनको सरकारका यातायातमन्त्री ओबाइदुल क्वान्दरसहित अन्य ६ उच्च अधिकारीहरूमाथि पनि अनुसन्धान हुने बताइएको छ।
गत जुलाई महिनामा भएको आन्दोलनका क्रममा एक जना मारिएको घटनालाई जोडेर उनीहरूविरुद्ध उजुरी परेको छ। अधिवक्ता मामुन मियाका अनुसार राजधानी ढाकाको एक अदालतले त्यहाँको प्रहरीलाई ‘उजुरी परेका व्यक्तिहरूविरुद्ध ज्यान मुद्दा स्वीकार गर्न’ आदेश दिएको छ। अदालतका म्याजिस्ट्रेट राजेश चौधरीले उक्त आदेश जारी गरेका हुन् र हसिनाका विरुद्ध आन्दोलन सुरु भएपछि उनका विरुद्ध जारी भएको यो पहिलो आदेश हो।
हालै भएको बंगलादेश आन्दोलनका क्रममा ४०० जनाभन्दा बढीको ज्यान गएको थियो। आन्दोलन भइरहेका बेला सडक पार गर्ने क्रममा स्थानीय किराना पसले अबु साईदलाई टाउकामा गोली लागेपछि व्यवसायी आमिर हाम्जाले गत जुलाई महिनामै हत्या आरोपमा हसिनामाथि अनुसन्धान गर्नुपर्ने माग गर्दै आवेदन दिएका थिए।
बीबीसी बाङ्ग्लाका अनुसार गत १९ जुलाईमा प्रहरीले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि जथाभाबी गोली चलाउने क्रममा साईदलाई लागेको भनी हाम्जाले स्थानीय अदालतलाई बताएका छन्।
‘शेख हसिनाको अपराधविरुद्ध कानुनी कदम चाल्न हिम्मत गर्ने पहिलो सर्वसाधारण नागरिक हुँ म। म यसलाई टुङ्गोमा पुर्याउँछु,’ उनले समाचारसंस्था रोएटर्सलाई बताएका छन्।
निरन्तर १५ वर्षसम्म सत्तामा रहेकी हसिनामाथि व्यापक मानवअधिकार उल्लङ्घन र भ्रष्टाचारको आरोप लाग्ने गरेको छ।
