टक्सार- भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा बङ्गुरपालन गर्ने सोच बनाए।
सोही वर्ष उनले सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरे। १६ लाख खर्चेर १० माउ पोथी र एउटा भाले बङ्गुरबाट व्यावसायिक रूपमा सुरु गरेका खेसराजले सुरुवाती दिनमा सोचेअनुरुप आम्दानी गर्न सकेनन्।
‘सुरुमा नाफा त भएन। विस्तारै मुनाफा आर्जन हुँदै गयो,’ उनले भने।
अहिले सुवेदीले पालेका बङ्गुर तराईका विभिन्न जिल्लासँगै काठमाडौंसम्म बिक्री हुन्छन्। यसले गर्दा उनको उत्साह थपिएको छ।‘ बंगुरपालनबाट सबै खर्च कटाएर वार्षिक रु ५ लाख आम्दानी हुन्छ,’ सुवेदी भन्छन्।
स्थानीय जातको बङ्गुरभन्दा उन्नत जातको बङ्गुरबाट चाँडो आम्दानी लिन सकिने उनी बताउँछन्। उनले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बङ्गुर पालेका छन्। स्थानीय जातका बङ्गुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बङ्गुर एक सयदेखि एक सय ८० किलोम्म हुने गरेको छ।
खेसराज खेतबारीमा पनि रमाउँछन्। यसकारण बङ्गुरपालनसँगै फलफूलखेती पनि गरेका छन् उनले। उनका खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन्। यो याममा एभोकाडोबाट रु पाँच लाख आम्दानी गर्ने लक्ष्य उनले सुनाए। खेसराज स्वदेशमै श्रम गरे विदेशिनु नपर्ने बताउँछन्।
खेसराज जस्तै जिल्लाका अन्य किसान पनि बङ्गुरपालनतर्फ आकर्षित भएका छन्। व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन्।



