काठमाडौँ– पृष्ठभूमिमा चम्किलो आकाश छ। उनले चित्रमा गहिरो आशा कोरिदिए। तर आशालाई अँध्यारो प्रकाशले छेकेको छ।
झोपरपट्टी र सूर्यमुखी फूलको बीचमा दुई पात्र(अस्मिता लामिछाने, आरके मेहता) उभिएका छन्। जो श्यामश्वेत आँखाबाट जीवनका रंगिन सपना देखिरहेका छन्। उनले उनीहरूको सपनामा फूल रोपिदिए।
र रोप्नुअघि नै सोचे, ‘ यसको सौन्दर्य नै फूल हो।’
फूलहरूको माझ एउटा ठूलो सूर्यमुखी छ। सूर्यमुखीको बीचमा उभिएका दुई पात्र पनि त्यही फूलजस्तै लाग्न सक्छन्।
जोन योञ्जन निर्देशित फिल्म ‘आँखा’को पोस्टरलाई गहिरो नियाल्दा पात्रका जीजिविषा भेटिन्छन्। सुन्दर स्वप्नहरू भेटिन्छन्। गत शनिबार पोस्टर सार्वजनिक भएपछि ‘आँखा’कि कलाकार अस्मिता लामिछानेलाई उनकी साथीले भनिन्, ‘यो बनाउनेलाई मेरो तर्फबाट सलुट भनिदिनु।’
पोस्टरबाट ‘सलुट’ पाएको डिजाइनर रोयल भिमसेनको लागि यो नौलो भने हैन। उनले २ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘चिसो मान्छे’को पोस्टर बनाउँदा कैयन् तारिफ बटुलेका थिए। फिल्मको चर्चालाई पोस्टरले नै चुलीमा पुर्याइदिएको थियो त्यतिबेला।
त्यसयता ‘प्रकाश’, ‘म राजेश हमाल’ वा ‘कौसिद’। वा होस् अहिले प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूको यात्रा गरिरहेको ‘साम्बला’। रोयलले पोस्टर डिजाइनमा आफ्नो कला खिपिरहे।

पछिल्लो समय मात्र ‘महापुरुष’ ‘महाजात्रा’, ‘द रेड सुटकेस’, र ‘पुजारसार्की’ र जस्ता फिल्महरूको पोस्टर पनि उनैले कोरे। प्रदर्शनको पाइपलाइनमा रहेको फिल्म ‘खुस्मा’, ‘एक्टर’, ‘ऊनको स्वीटर’, ‘जन्ते बाख्रो’, र ‘रेशम फिलिली’को पोस्टर पनि उनैको जिम्मामा छन्। उनको कम्पनीले पोस्टर मात्र हैन, फिल्म घोषणादेखि रिलिजपछिसम्म ‘पब्लिसिटी’को जिम्मेवारी पनि बहन गर्छ।
पब्लिसिटी डिजाइन, सोसल मिडिया प्रोमोसन, पेज म्यानेजमेन्ट, इभेन्ट कोअर्डिनेसन लगायतका जिम्मेवारी लिएर फिल्म निर्माण टिमलाई सहज बनाउँछ। रिलिजको तयारीमा लागिरहेको फिल्म ‘बेहुली फर्म मेघौली’को पब्लिसिटी पनि यतिबेला ट्राइडेन्ट कन्सेप्टले नै हेरिरहेको छ।
फिल्मका पोस्टरमा कलाकारको ‘टाउको’ देखेर दर्शक हलसम्म जाने समय पनि बित्यो।
यद्यपि प्रदर्शनको बेला पोस्टरमा हर कलाकार आफ्नो टाउको खोज्न भने अझै छाड्दैनन्। त्यसकारण प्रोड्युसरहरू पोस्टर बनाउन आउँदा कलाकारका टाउकै जोडिदिन लगाउँछन्। ‘जहाँ आफ्नो कला देखिन्न। त्यसमा कामै किन,’ यही सोचेर रोयल कतिपय फिल्म नै लिँदैनन्। ‘मलाई आज आएर भोलिका लागि पोस्टर बनाइदेऊ भनेकै कारण कतिपय प्रोजेक्ट बीचैमा पनि छाडेको छु। कम्तिमा आफ्नो पनि त कला देखिनुपर्छ,’ रोयल सुनाउँछन्।
‘आँखा’मा देखिएको संसार
‘आँखा’को पहिलो पोस्टरमा पनि कलाकारका टाउका अटाएका थिए। पोस्टर सार्वजनिक गरेपछि रोयलले सोचे, ‘मलाई चित्तबुझ्दो बनाउनै बाँकी छ।’ ‘आँखा’को कथाले रोयललाई तानेको थियो। उनी कथालाई न्याय गर्ने पोस्टरबारे सोच्न थाले। ‘४ महिनासम्म सोचिरहेँ, ’ उनी सुनाउँछन्, ‘एकदिन स्पार्क भयो।’
पात्रहरू जुन दुनियाँमा छन्, कथामा उनीहरू त्यहाँबाट उपल्लो दुनियाँको कल्पना गरिरहेका छन्। त्यसको मेटाफरस्वरुप सूर्यतर्फ फर्केर मुस्कुराइरहेको सूर्यमुखी सम्झिए उनले। दुई पात्रहरूको आँखाबाट देखिने संसारलाई रोयलले आफ्नो आँखाबाट हेर्ने प्रयास गरे। अनि कोरे।

आगामी ११ असोजमा दर्शकहरूलाई ‘आँखा’ देखाउन लागिपरेका फिल्मका निर्देशक जोनले पोस्टर देखेपछि भने, ‘मास्टरपिस बनाउनुभयो।’ आफ्नै ट्राइडेन्ट कम्पनी छ रोयलको। पछिल्लो ८ वर्षको अवधिमा उनले दर्जनौँ पोस्टर डिजाइन गरे। कतिमा कला भरिए, कतिमा छुटे।
उनी चाहन्छन्, ‘चिसो मान्छे’ वा ‘आँखा’का जस्तै पोस्टर बनाउन। जुन हेर्दा हरेक मान्छेका आँखा शितल हुन्। र भनुन्, ‘कस्तो मास्टरपिस।’


