अस्टिन (टेक्सस) – गोरखा ग्रुप एलएलसीले आगामी सेप्टेम्बर ८, २०२४ मा अमेरिकाको टेक्ससस्थित अष्टिनमा अब नाच्छ अमेरिका शीर्षकमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली समूदायको महत्वपूर्ण चाड तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा चर्चित नेपाली कलाकारहरु रचना रिमाल, ज्योती मगर, सपनाश्री परियार र करिश्मा ढकालको प्रस्तुति रहनेछ।
कार्यक्रम साँझ ५:०० बजे देखि राति ९:३० बजेसम्म एल पालासियो इभेन्ट सेन्टरमा सञ्चालन हुने आयोजक संस्थाले बताएको छ। यस कार्यक्रमले टेक्सस र वरपर रहेका नेपाली डायस्पोरालाई एकै ठाउँमा जुटाएर नेपाली संस्कृतिको जगेर्ना गर्ने र सामुदायिक भावना विकास गर्ने लक्ष्य राखेको आयोजक संस्था गोरखा ग्रुपका मेनेजिङ डाइरेक्टर डीबी रावतले जानकारी दिए।
कार्यक्रमको लागि टिकट सामान्य प्रवेशका लागि $३५ र भिआइपी प्रवेशका लागि $१०० निर्धारण गरिएको छ। यस कार्यक्रमलाई सफल बनाउनको लागि एन्थोला इन्टरटेनमेन्ट, नमोनमस्ते इन्टरटेनमेन्ट, र नेप्लिज इन्टरटेनमेन्टले सहयोगी संस्थाको रुपमा साथ दिएका छन्। आयोजकहरुले सहभागीहरुको सुविधाका लागि पार्किङ लगायत अन्य व्यवस्था मिलाएको जनाएका छन् ।


