२०८३ कार्तिक ११ गते मङ्गलबार

कमलाले आँखा जुधाइरहिन्, ट्रम्प भागिरहे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २६
trump_kamala

अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पहिलो पटक सार्वजनिक बहस गरे।

करिब ९० मिनेट चलेको उक्त बहसलाई एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट नाम दिइएको थियो। बहसमा कमला ह्यारिस र ट्रम्पले एकअर्काको नीतिप्रति कडा आलोचना गरेका थिए।

बहसमा दुई उम्मेदवारबीच रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, सीमा समस्या, अध्यागमन, अर्थतन्त्र, क्यापिटल हिल दंगा (अमेरिकी राष्ट्रपतिका लागि यसअघि भएको निर्वाचनमा ट्रम्प पराजित भएपछि उनका समर्थकले गरेको उग्र प्रदर्शन) र गर्भपतन जस्ता विषयमा छलफल भएको थियो। यी दुई उम्मेदवारबीचको बहसमा चीन, रुस, इजरायल र इरानलगायतका देशको नाम पनि पनि पटकपटक आएको थियो।

बहसको अन्त्यमा कमला ह्यारिसले भनिन्, ‘अमेरिकाको भविष्यबारे आफ्नो र ट्रम्पको विचार बिल्कुलै फरक छ। मेरो ध्यान भविष्यमा छ। ट्रम्प विगतमा अड्किएका छन्।’

ट्रम्प पनि जवाफ दिन पछि परेनन्। ‘कमला ह्यारिसको नीतिले अमेरिकीलाई कुनै फरक पर्दैन किनभने उनले विगत चार वर्षमा केही पनि हासिल गर्न सकेकी छैनन्,’ ट्रम्पले भनेका थिए, ‘हाम्रो देश विनाशको बाटोमा छ। सारा संसार हामीमाथि हाँसेको छ। यदि ह्यारिसले नोभेम्बरमा चुनाव जितिन् भने माहोल तेस्रो विश्वयुद्धतर्फ अघि बढ्न सक्छ।’

बहसका क्रममा कमला ह्यारिस र ट्रम्पले एकअर्कालाई व्यक्तिगत रूपमा आक्रमणसमेत गरेका थिए।

ह्वाइटहाउसबाट बिदा भएपछि नै ट्रम्प विभिन्न मुद्दाका कारण चर्चामा छन्। उनले खेपिरहेका मुद्दा र २०२० को चुनावमा हार स्वीकार गर्न अस्वीकार गरेको विषयमा कमलाले ट्रम्पमाथि आक्रमक टिप्पणी गरिन्।

कमला अश्वेत मूलकी अमेरिकी हुन्। ट्रम्पले यही विषयमा विभिन्न समयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका थिए। यो विषयमा बहसका सहजकर्ताहरूले प्रश्न गरेका थिए। तर ट्रम्पले ती प्रश्नलाई बेवास्ता गरे। ट्रम्पले भने, ‘उनीहरू के हुन् मलाई मतलब छैन।’

तर ट्रम्पले दिने जातीय र सामुदायिक अभिव्यक्ति त्रासद भएको बताइन्। ‘यो एक त्रासदी हो, ह्यारिसले भनिन्, ‘त्यो व्यक्ति राष्ट्रपति बन्न चाहन्छ, जसले सधैं अमेरिकालाई जातीय आधारमा विभाजन गर्ने प्रयास गरेको छ।’

९० मिनेटसम्म चलेको बहसमा कमलाले डोनाल्ड ट्रम्पलाई बारम्बार अप्ठ्यारो पारेकी थिइन्। ह्यारिसले ट्रम्पलाई क्यापिटल हिलमा भएको आक्रमणका विषयमा पनि प्रतिप्रश्न गरेकी थिइन्। ह्यारिसले कुनै समय ट्रम्पको साथमा भएका तर अहिले उनको तीव्र आलोचना गरिरहेका अधिकारीको विषय पनि उप्काएकी थिइन्। त्यस्ता अधिकारीहरूको पनि बचाउ गर्न कमलाले ट्रम्पलाई सुझाव दिइन्।

मुद्दाहरूलाई आफ्नो पक्षमा मोड्न कमला कामयाव पनि ठहरिइन्। बहस अघि बढ्दै जाँदा ह्यारिसले बारम्बार रक्षात्मक मुद्रामा ट्रम्पलाई प्रहार गरिरहिन्। ह्यारिसले धेरै प्रहार र आलोचना गरेकाले ट्रम्प जवाफ दिन बाध्य भएका थिए।

कमला ह्यारिसले ट्रम्पलाई कमजोर भनेकी छन्। विदेशी नेताहरूले ट्रम्पलाई देखेर हसिमजाक गरेको पनि उनले सुनाइन्। ‘थकाई र कपाल’का कारण मानिसहरूले ट्रम्पको जुलुस चाँडै छोड्नेसमेत उनले ठोकुवा गरिन्।

ह्यारिस मुद्रास्फीति, आप्रवासन र अफगानिस्तानजस्ता मुद्दाहरूमा कमजोर हुने धेरै अमेरिकीको आकलन थियो। धेरैजसो विषयमा ट्रम्पले कमलामाथि प्रभावकारी प्रहार गर्न सकेनन्। आगामी दिनमा यो कुरामा ट्रम्प पछुताउन सक्छन्।

मुद्रास्फीति र अर्थव्यवस्थालाई ह्यान्डल गर्ने तौरतरिकामा बाइडेन प्रशासनमाथि धेरै अमेरिकीहरूले प्रश्न उठाएको जनमत सर्वेक्षणले देखाएका छन्। तर ह्यारिसले यो मुद्दालाई ट्रम्पको प्रस्तावित करयोजनातिर मोडिदिइन्। ट्रम्पले प्रस्ताव गरेको कर योजनालाई कमलाले ‘ट्रम्प बिक्री कर’को संज्ञा दिइन्।

बहसका क्रममा कमला ह्यारिसको हाउभाउ पनि प्रभावकारी रह्यो।

बहसका क्रममा ट्रम्पले जब जवाफ दिइरहेका हुन्थे, कमलाले सीधा उनलाई हेरिरहन्थिन्। अनि असहमति जनाउने गरी टाउको हल्लाउँथिन्। बेलाबेला हाँसेर उनका कुरामा प्रतिक्रिया व्यक्त गर्थिन्।

बहसकै क्रममा ट्रम्पले ह्यारिसलाई ‘मार्क्सवादी’ भनी सम्बोधन गरे। त्यतिबेला ह्यारिसले चिउँडोमा हात राखेर कुनै कुरा नबुझेको इशारा गरिन्।

तर अर्थव्यवस्था र गर्भपतन जस्ता मुद्दाहरूमा ह्यारिस सीधासीधा क्यामेरामा हेर्दथिन्। यस्तो देखिन्थ्यो- मानौं उनी मतदाताहरूसँग कुरा गरिरहेकी छिन्।

कमलाले ट्रम्पसँग आँखा जुधाएर बहस गर्न चाहेकी थिइन्। तर ट्रम्प भने बहसभर ह्यारिससँग आँखा जुधाउनबाट जोगिइरहे। ह्यारिसका प्रश्नमा बेलाबेला उनी औंला ठड्याएर कुरा गर्दथे।

गर्भपतनको मुद्दामा बहसका क्रममा ट्रम्प निकै रिसाए।

प्रवासीका मुद्दा
रिपब्लिकन उम्मेदवार ट्रम्पले आप्रवासीहरूमाथि केही यस्तै आरोप लगाए,जसलाई सहजकर्ताहरुले नै गलत ठहर्‍याए।

आप्रवासीहरूको सम्बन्धमा ट्रम्पले कटु टिप्पणी गरे। उनीहरूले घरपालुवा जनावरहरू खान्छन्। उनीहरूले कुकुरहरू खान्छन्,’ ट्रम्पले भने, ‘तिनीहरू मानिसहरूका घरपालुवा जनावरहरू खान्छन्।’

ट्रम्पको कटुटिप्पण आएपछि सहजकर्ता डेभिड मुइरले रोकेका थिए। उनले भनेका थिए, ‘स्प्रिङफिल्डका सहर प्रबन्धकले त्यस्तो कुनै प्रमाण नभएको बताएका छन्।’

तर मुइरका कुरामा ट्रम्प अडिएनन्। प्रतिवाद गर्न थाले-‘मैले टिभीमा मानिसहरूको कुकुर चोरी भएको कुरा सुनेको छु।’

यो विषयलाई बरु कमला ह्यारिसले समापन गर्न खोजिन् र भनिन्- ट्रम्प धेरै बढाईचढाइ कुरा गर्छन्।’

आप्रवासीहरूले कुकुर चोरी गरेर खाने कुरा प्रामाणिक नभएको कुरा स्प्रिंगफिल्डका अधिकारीहरूले बीबीसीसँग पनि भनेका छन्।

रूस-युक्रेन युद्ध
बहसका क्रममा रुस–युक्रेन युद्धका बारेमा पनि छलफल भएको थियो। डोनाल्ड ट्रम्पलाई सोधिएको थियो, ‘के तपाईँ युक्रेनले युद्ध जितेको हेर्न चाहनुहुन्छ?’

जवाफमा ट्रम्पले भने, ‘म युद्ध बन्द होस् भन्ने चाहन्छु।’

युक्रेन र रुस युद्धले अमेरिकामा परेको असरबारे ट्रम्पले खुलस्त भनेका थिए। यो युद्धका कारण अमेरिकाको तुलनामा युरोपले निकै कम मात्र पीडा भोगेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैलाई राम्ररी चिनेको ट्रम्पले बताएका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेनका विषयमा ट्रम्पले भने, ‘यस्ता अमेरिकी राष्ट्रपति जो कतै पनि देखिँदैनन्।’

कमला ह्यारिसले ट्रम्पको कुरालाई ठाडै अस्वीकार गरिन्।

‘तपाईं बाइडेनविरुद्ध लडिरहनु एको छैन। मेरोविरुद्ध चुनाव लड्दै हुनुहुन्छ,’ ह्यारिसले भनेकी थिइन्।

युक्रेन युद्धको प्रश्नमा ह्यारिसले युक्रेनी राष्ट्रपतिसँग आफ्नो बलियो सम्बन्ध रहेको बताइन्।

उनले ट्रम्पलाई भनिन्, ‘तपाईं हाल अमेरिकी राष्ट्रपति नभएका कारण हाम्रा नाटो सहयोगीहरू धेरै आभारी छन्। नत्र पुटिन किभमा बसेर बाँकी युरोपमा आफ्नो नजर राख्थे।’

ह्यारिसले पुटिन तानाशाह भएको उल्लेख गरिन्।

तर यसमा पनि ट्रम्पले कमलामाथि आक्रमण गरिहाले। ह्यारिस अहिलेसम्मकै सबैभन्दा खराब उपराष्ट्रपति भएको ट्रम्पले आरोप लगाए।

रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि युक्रेन र रुसबीच वार्ता गराएर युद्ध रोक्न असफल भएको दाबी गरे।

इजरायल-हमास युद्ध
कमला ह्यारिसले बहसमा इजरायल-गाजा मुद्दामा पुरानो शब्द दोहोर्याइन्।

‘इजरायलको आफ्नै सुरक्षाको अधिकार छ,’ उनले भनिन्, ‘तर इजरायलले कसरी आफ्नो अधिकार प्रयोग गरिरहेको छ भन्ने कुराको पनि अर्थ हुन्छ। यो युद्ध तुरुन्तै समाप्त हुनुपर्छ।’
उनले युद्धविराम र दुई राष्ट्रले समाधान निकाल्नुपर्ने पनि कुरा राखिन्।

ट्रम्पले भने आफू राष्ट्रपति भएको यो युद्ध हुने नपाउने दाबी गरे। ‘ह्यारिसले इजरायललाई घृणा गर्छिन्। अब ह्यारिस राष्ट्रपति बन्ने हो भने दुई वर्षभित्र इजरायलको कुनै अस्तित्व रहँदैन। म यो समस्या छिट्टै समाधान गर्छु।’

आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको खण्डमा रसिया-युक्रेन युद्ध पनि समाप्त हुने ठोकुवा ट्रम्पले गरे।

ह्यारिसले पनि इजरायलको सुरक्षाका विषयमा आफ्नो समर्थन रहने कुरा बारम्बार दोहोर्‍याइन्। र ट्रम्पको दावीलाई खारेज गरिन्। ट्रम्प सत्यबाट ध्यान हटाउन र विभाजित गर्न चाहने पनि कमलाले आरोप लगाइन्। ‘सबैलाई थाहा छ कि उनी (ट्रम्प) तानाशाही मन पराउँछन् र पहिलो दिनदेखि नै तानाशाह बन्न चाहन्छन्,’ कमलाले टिप्पणी गरिन्।

आर्थिक नीति
बहसको प्रारम्भमा कमलाले ट्रम्पको आर्थिक नीतिलाई लक्षित गर्दै टिप्पणी गरेकी थिइन्।

ट्रम्पले कमला ह्यारिसलाई सोधेका थिए, ‘तपाईंलाई लाग्छ अमेरिका चार वर्षअघिको भन्दा राम्रो अवस्थामा छ?’

यसबारे कमला ह्यारिसले आफू अवसरको अर्थतन्त्र सिर्जना गर्ने योजनामा रहेको बताइन्। ‘ट्रम्पले पछिल्लो पटक जस्तै अर्बपति र व्यापारीहरूलाई कर छुट दिने योजना बनाएका छन्,’ ह्यारिसले भनिन्, ‘१६ नोबेल पुरस्कार विजेता अर्थशास्त्रीहरूले ट्रम्पको करयोजनाको आलोचना गरिसकेका छन्। र उक्त योजना कार्यान्वयन भएको अर्को वर्ष आर्थिक मन्दी आउनेछ।’

ह्यारिसले डोनाल्ड ट्रम्पले अर्थतन्त्र कस्तो अवस्थामा पुर्‍याएर राष्ट्रपतिबाट बाहिरिएको भन्ने प्रसंग पनि समावेश गरिन्। ‘डोनाल्ड ट्रम्पले हामीलाई महामन्दीपछिको सबैभन्दा खराब अवस्थामा पुर्याउनु भएको थियो। बेरोजगारी दर उति नै बढी थियो। डोनाल्ड ट्रम्पले फैलाएको अव्यवस्थालाई हामीले सफाइ गर्नुपर्यो।’

ह्यारिसले ‘प्रोजेक्ट २०२५’ लाई खतरनाक भनिन्। ट्रम्प जितेर आए त्यसलाई कार्यान्वयन गर्ने उनको भनाइ थियो।

–बीबीसी हिन्दीबाट भावानुवाद गरिएको

प्रकाशित: २०८१ भदौ २६ गते बुधबार ०६:३७
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना