काठमाडौं– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन्। अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार उक्त मुद्दामा फैसला गर्दै मंगलबार म्यानहटन ज्यूरीले ट्रम्पलाई दोषी ठहर गरेको हो।
अमेरिकी लेखक इञ्जिनियर जिन क्यारलले ट्रम्पले आफूमाथि यौन दुव्र्यवहार र मानहानि गरेको दाबीसहित मुद्दा दर्ता गरेकी थिइन्। क्यारलले ट्रम्पविरुद्ध लगाएको बलात्कारको आरोप भने ज्युरीले खारेज गरिदिएको छ। यौन दुव्र्यवहार र मानहानिमा दोषी ठहर भएपछि ज्युरीले पीडितलाई ५ मिलियन डलर क्षतिपूर्ति दिन आदेश गरेको छ।
क्यारोललगायत दर्जनौं महिलाले ट्रम्पविरुद्ध यौन दुव्र्यवहारको मुद्दा दायर गरेका छन्। ट्रम्पले आफूमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप लगातार खण्डन गर्दै आइरहेका थिए।
आगामी राष्ट्रपति निर्वाचनलाई लिएर ट्रम्पविरोधी अभियानअन्तर्गत यो फैसला आएको उनको सचिवालयले जनाएको छ।
यसविरुद्ध ट्रम्पले अपिल गर्ने भएका छन्। सन् २०२४ मा पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्न सक्छ।



