काठमाडौँ– बिहीवारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा सुरू भएको “पर्वोत्सव” सुपथ मुल्य पसलमा सामाग्री किन्ने उपभोक्ताको भिड बढेको छ।
४ वटा बिक्री कक्षमार्फत सहुलियत पसलमा २८ प्रकारका विभिन्न खाद्य वस्तु विक्रीमा राखिएको छ। यसमा दैनिक भान्छामा प्रयोग हुने चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती, घ्यू, जिरा, चिउरा, पिठो लगायतका खाद्य वस्तु पर्छन्।
खाद्य व्यापार कम्पनीले अहिले यी सामाग्रीमा प्रति केजी ५ देखि १० रूपैंया छुट दिइरहेको छ। यसका अलवा सहुलियत पसलमा ग्राहकले ग्यास सिलिण्डर पनि किन्न पाउंछन्।
खाद्य व्यापार कम्पनीले डिस्प्लेमा राखेको बोर्ड अनुसार अहिले चामलमा प्रतिकिलो पाँच रूपैयाँदेखि सात रूपैयाँसम्म छुट दिइएको छ। कर्णालीको सिमीमा प्रतिकिलो सात रूपैयाँ छुट दिइएको छ।
चिनीमा पाँच रूपैयाँ, खाने तेलमा सात रूपैयाँ र सबैभन्दा धेरै घ्यूमा प्रतिकिलो १० रूपैयाँ छुट दिइएको छ। तर, चियापत्ती, नुन र ग्यासमा भने छुट छैन।
कम्पनीका अनुसार पाँच हजार मूल्यभन्दा माथिका सामान खरिद गर्ने ग्राहकलाई काठमाडौंको चक्रपथ भित्र फ्री होम डेलिभरीको व्यवस्था गरेको छ।


