काठमाडौं- नेपालका लागि टाटाको आधिकारिक सिप्रदी ट्रेडिङले टाटा नेक्सन म्याक्स मोडलका विद्युतीय गाडी सार्वजनिक गरेको छ। लामो दूरीसम्म यात्राका लागि उपयुक्त गाडीको मूल्य ४६ लाख ५० हजार निर्धारण गरिएको छ।
म्याक्स मोडलमा ४० किलोवाट आवरको ब्याट्री छ। टाटाले करिब २ दर्जन स्थानमा चार्जिङ स्टेसन राखेको छ। ४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी भएको सिप्रदीको दाबी छ। उसका अनुसार एक पटकको फूल चार्जमा ४५३ किलोमिटर कुदाउन सकिन्छ। झन्डै ७ घन्टामा फूल चार्ज हुने गाडी ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने बताइएको छ।
टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले नेक्सन इभी म्याक्समा जस्तोसुकै मौसम र सडक अवस्थामा यात्रा गर्न सकिने बताए। रेञ्ज, आराम र बनावटका कारण यसले उपभोक्तामा अमिट छाप छोड्न सफल हुने उनको विश्वास छ। सिप्रदी ग्रुप अफ कम्पनीजका अध्यक्ष सिद्धार्थ शमशेर जबराले नेक्सन इभी म्याक्सले ग्राकलाई सन्तुष्टि दिने बताए।
गाडीको सेन्ट्रल कन्सोलमा एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ्ग जस्ता सुविधाहरु भएको छ।
नेक्सन इभी म्याक्स इको, सिटि र स्पोर्ट गरी जम्मा तीन मोडल उपलब्ध छन्। गाडीको मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर यात्राको वारेन्टी छ।


