काठमाडौँ– गायक तथा अभिनेता यश कुमार बुधबार राति कमलपोखरीस्थित आलिशान लाउन्ज एन्ड क्लबमा गुन्जिए। लाइभ ब्यान्डसहित स्टेजमा उक्लिएका उनले एक दर्जन बढी आफ्ना नयाँ–पुराना गीत गाएर दर्शक झुमाए।
साँझ ८ बजे आलिशान ब्यान्डको प्रारम्भिक प्रस्तुतिसँगै सुरु भएको कन्सर्टमा राति ११ बजेमात्रै यश स्टेजमा उत्रिएका थिए। ‘पुरानो गाऊ’ गीतबाट आफ्नो प्रस्तुति थालेका उनले सुरुमा आफ्नो पुराना हिट सेन्टिमेन्टल गीतहरु हिजो अर्कैसँग देखेँ…, म आफ्नै इनार बनाउँछु…, बिरानो यो मन्दिरमा…, तिम्रो मन बदलिएछ…गाए। त्यसपछि डान्सिङ नम्बरमा प्रवेश गर्दै दर्शक नचाए। उनले ‘तुल्सी आँगनमा रोपौला… र तिमीलाई कुनै पल…गीत गाउँदा दर्शकले ‘वान्स मोर’को हुटिङ लगाए। ‘आलिशानमा यो मेरो पहिलो प्रस्तुति थियो, दर्शकहरुको अप्रत्याशित प्रेम पाएँ,’ यश खुशी सुनिएँ।
आलिशानले अब हरेक महिना यसैगरी सेलिब्रेटी साँझ गर्ने तयारी रहेको आलिशानका सञ्चालक राम थापाले बताए। ‘कोभिडपछि हाम्रो सेलिब्रेटी साँझ कार्यक्रम रोकिएको थियो। अब आलिशानमा हामी हरेक महिना प्रिय कलाकारहरुसँगै झुम्नेछौं,’ थापाले भने।

