अबुजा- जनवरीदेखि सेप्टेम्बरसम्ममा दक्षिणपश्चिमी राज्य लागोससहित ३३ वटा नाइजेरियाली राज्यमा हैजाको प्रकोपले ३५९ जनाको मृत्यु भएको छ।
नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी)का अनुसार राजधानी अबुजामा हैजा सङ्क्रमितको सङ्ख्या १० हजार ८३७ पुगेको छ।
यस वर्ष अहिलेसम्म नाइजेरियाका ३३ वटा राज्यमा हैजा फैलिएको छ। गत हप्ता मात्रै ५ राज्यमा १ सय ९८ वटा नयाँ सङ्क्रमण रिपोर्ट गरिएको थियो। संक्रमण र मृत्युको अनुपात ७.६ प्रतिशत रहेको एनसीडीसीले जनाएको छ।
क्षेत्रीय राष्ट्रिय हैजा प्राविधिक समूहको नेतृत्व गर्दै, एनसीडीसीले अधिकारीहरूलाई हैजा रोकथामको तयारी र प्रतिस्थापन योजना बढाई आपतकालीन व्यवस्थापनको लागि क्षमता विकास गर्न आग्रह गरेको छ।
प्रकोपबाट प्रभावित समुदायमा खुलारुपमा दिशा पिशाब गर्ने गलत अभ्यास रहेको एनसीडीसीले उल्लेख गरेको छ।
पिउने पानी र सरसफाइमा कमजोर पहुँचलाई प्रकाश पार्दै एनसीडीसीले यस्तो अस्वस्थ्य अभ्यासले हैजा फैलावट रोक्ने देशको प्रयासमा चुनौती खडा गरेको जनाएको छ।
हैजा अत्यधिक विषाक्त रोग हो। सुरुमा अचानक गम्भीर झाडापखाला लाग्छ।
यसले शरिरमा तरल पदार्थको कमी (डिहाइड्रेसन) का कारण मृत्यु निम्त्याउन सक्छ।
विशेषगरी घना जनसङ्ख्या भएका क्षेत्रहरूमा पिउने पानीको आपूर्तिको अभावका कारण नाइजेरियामा हैजाको प्रकोप बारम्बार बढिरहेको जनाइएको छ।
-एएफपी
