काठमाडौँ- शुक्रबार ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ निकालिएको छ। हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट यो जात्रा निकालिन्छ। यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ।
कहीँ नभएको जात्रा हाँडीगाउँमा मनाउनुपर्ने मुख्य तीन वटा कारण रहेको हाँडीगाउँका स्थानीयवासी बताउँछन्। अन्य रथहरू देवतालाई भित्र राखेर गजुर माथि हुन्छ। तर हाँडीगाउँको जात्रामा गजुर मुनि र देवता माथि रहने गर्दछन्।
यसैगरी, कहीँ पनि नपाउने एक विशेष प्रजातिको फूल (सी स्वाह) हाँडीगाउँको जात्रामा चाहिन्छ भने एउटा इनार छ। जहाँको पानी यही जात्रामा मात्रै चढाइने गरिन्छ।
स्थानीयका अनुसार यो जात्रा लिच्छिवीकालका राजाले सुरु गरेका हुन्। किंवदन्तीका अनुसार कुनै समयमा एक राजाका दुई छोरी थिए। उनीहरूको एकै समयमा सुत्केरी हुने समय भयो। दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताए पनि बहिनीले यस कुरामा विश्वास गरेकी थिएनन्। जसकारण, दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिए पनि बहिनीको १२ वर्षसम्म पनि सन्तानलाई जन्म दिन सकेकी थिएनन्। यसका कारण खोज्दै जाँदा रिसाएको नारायण भगवान् हिमालमा तपस्या गरेर बसेका थिए। उक्त भगवानलाई प्रसन्न पार्न कहीँ नभएको जात्रा गरेपछि मात्रै बहिनीले सफलतापूर्वक सुत्केरी गराउन सफल भएका थिए भन्ने विश्वास रहेको छ।


















