काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका नेता-कार्यकर्ताहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।
शनिबार विभिन्न स्थानबाट मोटरसाइकल र्याली निकाल्दै माइतीघरमा जम्मा भएर रास्वपाका नेताकार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले राजनीतिक प्रतिशोधका कारण लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन्।
प्रदर्शनमा उनीहरूले सरकार, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरूविरुद्ध चर्का नाराबाजी गरेका थिए।
रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पुर्याएको छ।
सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ। लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ।















