काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को कमजोरीका कारण नेपाली फुटबलका समर्थकले सास्ती खेप्नुपरेको छ।
नेपाल र बंगलादेशबीच बुधबार साँझ साढे ६ बजे सुरु हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकले टिकट लिन सास्ती खेप्नु परेको हो।
टिकट लिन मात्र नभएर रंगशाला प्रवेश गर्न पनि हजारौं दर्शकले लामो समय कुर्नु परेको थियो। टिकट किनेका दर्शक झन्डै ४ घण्टासम्म लाइनमा बसेका थिए।
कतिले नेपालको झण्डा त कतिले राष्ट्रिय टोलीको जर्सी लगाएर लामबद्ध छन्।
एन्फाले आजै मात्र फाइनलको टिकट भौतिक उपस्थितिमै बेचेको थियो। ३ घण्टामै टिकट सकिएको एन्फाको भनाइ थियो।
यसअघि अनलाइनबाट बिक्री गरिएका सबै टिकट रद्द गरिएको थियो। अनलाइनबाट टिकट किनेका समर्थकले खेल हेर्न पाएनन्।















