काठमाडौँ- अभिनेत्री ऋचा घिमिरेले अभिनेता विपीन कार्कीले एक फिल्ममा काम गर्दा एक करोड रुपैयाँ डिजर्भ गर्ने बताएकी छन्। काठमाडौँमा सोमबार फिल्म ‘तेल भिसा’ले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन्।
‘उहाँ (विपीन) अनस्क्रिन मात्रै होइन, अफ स्क्रिन पनि त्यति नै सरल हुनुहुन्छ। उहाँको जुन स्टारडम छ, त्यही अनुसार उहाँको व्यवाहार हुने हो भने अमेरिकामा काम गर्न सहज थिएन,’ ऋचा भन्छिन्, ‘स्टारडम र क्वालिटीअनुसार विपीन ५० लाख मात्रै होइन एक करोड रुपैयाँ डिजर्व गर्ने कलाकार हो।’
कारण काम गर्न सहज भएको बताउँछिन्। उनको सरलपनले सिनेमाको काम गर्न सहज भएको उनले स्पष्ट पारिन्।विपीनको एक्टिङ पावरले सिनेमालाई ब्रान्डिङ गर्ने भन्दै उनको पारिश्रमिकलाई धेरै भन्न नमिल्ने उनको भनाइ छ।
निर्देशक शंकर घिमिरेले ‘तेल भिसा’ व्यंग्यात्मक नाम भएको बताए। ‘सबै बाबुआमालाई तेल लगाउन मात्रै छोराछोरीले विदेश बोलाउँदैनन्। अरु प्रयोजन पनि हुन्छ,’ उनले भने।
विदेशी भूमिमा कानुन नबुझ्दा नेपालीले थुप्रै समस्या भोगिरहेको भन्दै उनले त्यस्तै घटना चलचित्रमा समेटिएको उनले बताए।
अभिनेता विपीन कार्कीले डबल रोल गर्न निकै कठिन भएको बताए। ‘तेल भिषा’मा उनी दोहोरो भूमिका छन्। ‘मलाई एउटै क्यारेक्टर गर्न पनि कठिन हुन्छ। दुईटा भनेपछि त झन कठिन हुने नै भयो,’ विपीन भन्छन्, ‘तर, दोहोरो भूमिका छ भन्नवित्तिकै मैले क्यारेक्टरबारे सोच्न थालेको थिएँ।’
यद्यपि, एउटा रोल नेपालमा र एउटा रोल अमेरिकामा गरेकाले केही सहज भएको उनको भनाइ छ। शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’मा अभिनेता विपीन कार्की बृद्ध र जवानसहित दोहोरो भूमिकामा छन्।
विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारले यो चलचित्रमा अभिनय गरेका छन्।
अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुति दाहाल हुन्।
‘तेल भिसा’ मंसिर ७ गते रिलिज हुँदै छ।
पत्रकार सम्मेलनका थप तस्बिर










