चक्रपथ क्षेत्र अन्तर्गत गौशालामा रहेको अनाधिकृत संरचनामा काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले डोजर चलाएको छ। शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको हो ।
चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो। चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। ‘अहिले हामी डोजर सहित गौशाला क्षेत्रमा छौं, यो धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना भत्काउन आएका हौं,’ अर्यालले भने।
चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।








