काठमाडौँ- चालु आर्थिक वर्षको तेस्रो त्रयमास (२०७९ साउनदेखि चैत)सम्ममा नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्दै यस्तो जानकारी दिएको हो।
गत वर्ष यसै अवधिमा टेलिकमले ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा टेलिकमको नाफा २ करोड ३३ लाख ७१ हजार अर्थात् ०.४३ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको ९ महिनामा टेलिकमले २७ अर्ब ३४ करोड रुपैयाँ कुल सञ्चालन आय गरेको छ। गत वर्षको तुलनामा टेलिकमको सञ्चालन आय ८७ करोड २९ लाख अर्थात ३.०९ प्रतिशतले संकुचित भएको छ। गत वर्षको यस अवधिमा टलिकमले २८ अर्ब २१ करोड ९६ लाख रुपैयाँ खुद संचालन आय गरेको थियो।
समीक्षा अवधिमा टेलिकमको कुल आय पनि २.०६ प्रतिशतले बढेको छ। गत वर्ष ३२ अर्ब ५३ करोड कुल आय गरेको टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ३३ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ।
ग्राहकले डाटा प्रयोग बढाएका कारण कम्पनीलाई ७७ करोड ५० लाख सञ्चालन आय वृद्धिमा सहयोग गरेको गरेको छ। अन्तरआबद्धता सम्बन्धी निर्देशिकाअनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्क कमी आएकाले यस सम्वन्धी खर्चमा पनि कमी आएको टेलिकमले जनाएको छ।
यस शुल्कमा आएको कमी र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण सञ्चालनमा आयमा करिब ५७ करोड ५८ लाख रुपैयाले कमी आएको टेलिकमले जनाएको छ।
यसैगरी विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने पुगेकाले खुद नाफामा असर गरेको टेलिकमले जनाएको छ।
यसैगरी, चालु आर्थिक वर्षको आर्थिक ऐन मार्फत दूरसंचार सेवा दस्तुर घटाएकाले यसको असर टेलिकमको आम्दानीमा परेको छ। कम्पनीको लेखा नीति तथा एनएफआरएस वमोजिम गणना गर्दा इम्प्रियरमेन्ट खर्च गतवर्षभन्दा बढी भएको टेलिकमले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
बैँक ब्याजदरमा भएको वृद्धिका कारण १ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ र विदेशी विनिमय दर बढेकाले ५ करोड ४६ लाख रुपैयाँ गैरकार्य सञ्चालन नाफा कमाएको टेलिकमले जनाएको छ।


