काठमाडौँ- यौन दुर्व्यवहारको मुद्दामा पक्राउ परेका कृषिविज्ञ मदन राई थप ७ दिन प्रहरी हिरासतमा नै रहने भएका छन्। राईले सञ्चालन गरेको ‘शुभद्रा मदन फाउन्डेसन’मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका राईलाई थप ७ दिन हिरासतमा राख्न खोटाङ जिल्ला अदालतले अनुमति दिएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङका अनुसार अनुसन्धान नसकिएकाले अदालतबाट थप म्याद लिइएको हो। राई शुक्रबार पक्राउ परेका थिए।
विद्यालयसमेत सञ्चालन गर्दै आएको फाउन्डेसनले विद्यार्थीहरूलाई होस्टलमा राख्ने गरेको थियो। होस्टलका विद्यार्थीलाई ७५ वर्षीय राईले संवेदनशील अंग चलाउने, नग्न शरीर देखाउनेलगायतका अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।


